८ जेष्ठ २०८१, मंगलबार

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

प्रकाशित मिति :  1 May, 2024 7:41 am


काठमाडौँ। आज मे १ तारिख । अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर मनाइँदै छ । ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ एक सय ३५ औँ दिवस मनाइँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२४ को अवसरमा शुभकामना सन्देश दिँदै मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भरउन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत हुनुपर्नेबताएका छन्।

दिवसले श्रमिकको हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा भनिएको छ, “मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ ।”

भामुख घिमिरले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमिकलाई शुभकामना व्यक्त गर्दै श्रमिक दिवसले समस्त मजदुर वर्गमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको कामना गरेका छन्।

सभामुख घिमिरेको सन्देशमा भनिएको छ, “नेपालमा शारीरिक श्रम गर्ने र दैनिक ज्यालादारी मजदुरलाई सम्मानजनक रूपमा नहेर्ने प्रवृत्ति विद्यमान रहेको छ, जसको श्रमबाट निर्भर रहने उनीहरूलाई नै हेयको दृष्टिबाट हेर्ने नेपाली समाजको प्रवृत्ति बदल्न जरुरी छ। संविधानको व्यवस्था बमोजिम श्रमिकको हक, हित तथा सुविधाको प्रबन्ध गर्न, असल श्रम सम्बन्धको विकास गर्न, श्रम शोषणका सबै अवस्थालाई अन्त्य गरी उत्पादकत्व वृद्धि गर्न हामी सबैको साझा प्रतिबद्धता आवश्यक छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना सन्देश जारी गर्दै श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताएका छन्।

सन्देशमा भनिएको छ, “नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो । श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिबद्ध छ ।”

राजनैतिक दलका प्रमुख, प्रदेश प्रमुख लगायत उच्च पदस्थ अधिकारी तथ विभिन्न संघसंस्थाले श्रमिक दिवसको शुभकामना व्यक्त गरेका छन् ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।



प्रतिक्रिया दिनुहोस !