५ जेष्ठ २०८१, शनिबार

कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको तयारी पूरा

प्रकाशित मिति :  4 May, 2024 9:34 am


काठमाडौँ । आइतवार सुरू हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ।

आयोजकद्वय एसएस इभेन्ट्स प्रालि र नेकोसले शुक्रवार नक्सालमा संयुक्त पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी दिएका हुन्।

एएस इभेन्ट्स प्रालिका निर्देशक सुमित रौनियारले तयारी पूरा भएको जानकारी दिए। पत्रकार सम्मेलनमा समूह विभाजनसँगै ट्रफी र जर्सी सार्वजनिक गरियो।

एएस इभेन्ट्स प्रालिका निर्देशक रौनियार, प्रतियोगिता निर्देशक प्रविन जोशी र नेकोसका महासचिव धरमबहादुर लामाले संयुक्त रूपमा ट्रफी र अन्य अतिथिले जर्सी सार्वजनिक गरेका हुन्।

५ ओभरमा खेलाइने प्रतियोगिता मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा हुने भएको छ। यस संस्करणमा कुल १५ कर्पोरेट हाउसले प्रतिष्पर्धा गर्नेछन् भने ती टोलीलाई कुल ४ समूहमा विभाजन गरिएको छ।

३ समूहमा समान ४ टोली रहनेछन्। एउटा समूहमा ३ टोली मात्र प्रतिष्पर्धा गर्ने प्राविधिक संयोजक विनयकुमार झाले जानकारी दिए।

शुक्रवार नै सार्वजनिक गरिएको थियो ड्र अनुसार समूह ‘ए’ मा माच्छापुच्छ्रे बैंक, क्लाउड फ्याक्ट्री, एनआइसी एशिया बैँक र प्राइम बैँक तथा समूह ‘बी’ मा आइसिएफसी फाइनान्स, जगदम्बा ग्रुप, सिप्रदी र कुमारी बैँक छन्।

समूह ‘सी’ मा सूर्य नेपाल, आइएमई ग्रुप, नेपाल बैँक र एनसेल लिजेन्ड्स तथा समूह ‘डी’ मा एनसेल इलाइट्स र सुबिसी गरी तीन टोलीले मात्र प्रतिस्पर्धा गर्नेछन्।

प्रत्येक समूहबाट शीर्ष २ टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुँदै छ। यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन्।

विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउने आयोजकले जनाएको छ। प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन्।

आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने भएको छ।

सन् २०१४ सुरू भएको कर्पोरेट सुपर सिक्सेसको छैटौँ सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आएको थियो। सातौँ सिजनदेखि नेकोस जोडिएको हो।



प्रतिक्रिया दिनुहोस !