५ जेष्ठ २०८१, शनिबार

विश्वकपका लागि नेपाली टोलीमा नाम देख्दा आँसु आयो– अनिलकुमार साह

प्रकाशित मिति :  5 May, 2024 7:56 am


काठमाडौँ। नेपालका ब्याटर अनिलकुमार साहले ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोलीमा आफ्नो नाम देख्दा आँसु आएको बताएका छन्।

शनिवार पाँचौं तथा अन्तिम खेलमा पाहुना टोली वेस्ट इण्डिज ‘ए’ बिरुद्ध जित निकालेपछि पत्रकार सम्मेलनमा बोल्दै ब्याटर अनिलले विश्वकपमा छनोट हुन पाउनु खुशीको क्षण रहेको र आफ्नो नाम देख्दा आँसु आएको बताएका हुन्।

टिममा नाम देख्ने बितिकै घर परिवारसँग खुशी साटेको उल्लेख गर्दै उनले अन्तिम खेलमा विकेट जोगाएर खेल्दा जित निकाल्न सकिन्छ भन्ने योजनाअनुरूप खेलेको बताए।

साहले दोस्रो विकेटका लागि करिव एक सय रनको साझेदारी गरेका थिए । ब्याटिङमा डेप्थ रहेको उल्लेख गर्दै उनको पहिलो विकेट पतन भएसँगै समालिएर खेलेको बताए।

शुरुमा आफ्नो ब्याटमा बल कनेक्ट हुन नसकेको र आसिफलाई क्रिजमा बढी समय बताउन दिएको अनुभव सुनाए ।

शनिबार जितपछि ओपनर आसिफ सेखले आशा गरेअनुरूप नजिता नआए पनि अन्तिम खेलमा जितसहित विश्वकपमा जाने टोलीको लक्ष्य पूरा भएको प्रतिक्रिया दिए।

उनले विश्वकप छनोटबाट विश्वकपमा स्थान बनाउनु नै आफूहरूको लागि यादगार क्षण रहेको उल्लेख गरे। विश्वकप अगाडि वेस्ट इण्डिजको टोली जस्तो टिमसँग खेल्न पाउनु पनि महत्वपूर्ण हुने उनको विश्वास छ ।

पत्रकार सम्मेलनमा तिब्र गतिका बलर सोमपाल कामीले आफ्नो लक्ष्य पूरा भएको उल्लेख गर्दै विश्वकप खेल्न पाउनुलाई भाग्यमानी रहेको प्रतिक्रिया दिए। उनले जुनसुकै देशमा पुगे पनि नेपाली समर्थकको उत्तिकै साथ र समर्थन पाउने गरेको उल्लेख गरे।

यस पटक विश्वकपमा पनि सोहीअनुरूप समर्थकको साथ पाउने विश्वास व्यक्त गर्दै उनले आयरल्याण्ड र वेस्ट इण्डिज जस्ता बलिया टोलीसँगको खेलबाट राम्रो एक्सपोजर पाएको र त्यसले विश्वकपमा पनि मद्दत पुग्ने आशा व्यक्त गरे।

वेस्ट इण्डिज ‘ए’ का कप्तान रोस्टन चेजले छिटै विकेट हुँदा सोचेअनुरूप योगफल बनाउन नसकिएको उल्लेख गरे। उनले नेपाल पनि बलियो टोली रहेको र प्रशिक्षक मोन्टी देसाईबाट टोलीले राम्रो प्रशिक्षण पाएको बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !