७ जेष्ठ २०८१, सोमबार

आज अक्षय तृतीया, हिन्दू संस्कृतिमा बहुमहत्वको दिन

प्रकाशित मिति :  10 May, 2024 8:19 am


काठमाडौँ। आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। हिन्दू धर्मालम्बिहरुले मठमण्दीरमा पूजा अर्चना गरेर मनाउँदैछन्

वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ। आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ।

भगवान् विष्णुका २४ अवतारमध्ये भगवान परशुराम, नरानारायण एवं हयग्रीव आदि तीन अवतार अक्षय तृतीयको दिन नै धर्तीमा आएका थिए ।

आजको दिन हिन्दू सम्प्रदायमा जौको सातु र सर्वत खाने परम्परा रहीआएको छ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गर्ने गरिन्छ ।

यही दिन शिव–पार्वतीको विवाह भएको पनि मानिन्छ । त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ।

मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा पनि यो पर्व मनाइँदै छ । ब्राह्मणलाई जौ, चनाको सातु र सक्खरको सर्वत दान गरेर मिथिलावासीले यी पदार्थ आफूले पनि सेवन गर्ने परम्परा छ।

पौराणिक कथनअनुसार यसै दिन महाभारतको लडाइँ सकिएको थियो र त्रेता युगको सुरु भएको थियो। आजको दिनमा कुनै पनि नयाँ काम थालनी गर्दा त्यसबाट ख्याति प्राप्त हुने विश्वास रहीआएको छ ।

स्नान, दान, ध्यान, जप, तप, हवन, स्वाध्याय एवं पितृ तर्पण गर्दा त्यसबाट ठूलो पुण्य प्राप्त हुने मान्यता छ । अक्षयतृतीयामा जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ, त्यति नै बढी पुण्य पाइने हिन्दू विश्वासले आज हिन्दू मैथिल बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन्।

जसको कमाइ भएर पनि अडिँदैन, घरमा पैसा टिक्दैन, घरमा सुखशान्ति छैन, सन्तान आज्ञाकारी छैनन्, शत्रुले चौतर्फी घेरा हालेका छन् भने अक्षय तृतीयाको दिनको व्रत तथा दान पुण्यले सबै बाधा टाढिन्छन् भन्ने मान्यता छ ।

हिन्दूहरूको तीर्थस्थल वृन्दावनस्थित बाँकै बिहारीको चरण दर्शन पनि अक्षय तृतीयको दिन मात्रै हुन्छ । बद्रीनाथको ढोका पनि यसै दिन खोलिन्छ ।



प्रतिक्रिया दिनुहोस !