१२ श्रावण २०८१, शनिबार

ललितपुर मेयर्स कप क्रिकेट: एपिएफ एक खेल अगावै फाइनलमा

प्रकाशित मिति :  15 May, 2024 6:59 pm


काठमाडौँ । साविक विजेता एपिएफले ललितपुर मेयर्स कप राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै फाइनल यात्रा पक्का गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधवार एपिएफले ललितपुर मेयर्स–११ माथि आठ विकेटको रबाफिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

पाँच टोली सहभागी यस प्रतियोगिताको लिगमा शीर्ष दुई टोलीले फाइनलमा खेल्ने तय छ । एपिएफ लगातार तेस्रो खेलसम्म अपराजित रहँदै फाइनलमा पुग्न सफल भयो ।

ललितपुर मेयर्स–११ को हारसँगै एक खेल अगावै फाइनलमा पुग्न एपिएफका लागि पर्याप्त भएको । दुई खेलमा अपराजित रहँदा सुदूरपश्चिमको चार अंक छ भने समान तीन खेलबाट ललितपुर मेयर्स–११ र वागमती प्रदेशको दुई अंक छ ।

कोशी प्रदेशले तीन खेलमा एक खेल पनि जित्न सकेको छैन । बुधवार बागमती प्रदेशसँग आठ विकेटले पराजित भएसँगै कोशीको फाइनल सम्भावना समाप्त भएको हो ।

बागमतीको भने यो जितले फाइनल सम्भावना जीवन्त रह्यो । १३ औं ओभरमा छोट्याइएको खेलमा कोशीले ६४ रनको सामान्य लक्ष्य दियो । जवाफमा बागमतीले ११.२ ओभरमा नै मात्र दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । बागमतीको जितमा ओपनर यशु पाण्डेले सर्वाधिक २६ रन जोडिन् । उनले २३ बलमा पाँच चौका हिर्काइन् । कञ्चन श्रेष्ठ र खुशी डंगोलले समान ११ रनमा अविजित रहँदै जित दिलाए ।

कप्तान अप्सरी बेगम र हिरणमयी रोयले समान एक विकेट लिँदै किफायती बलिङ गरे पनि कोसीको हार टार्न सकेनन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीको प्रदर्शन सुखद् रहेन ।

कोशीले ६ विकेटको क्षतिमा ६३ रन मात्र बनाउन सक्यो । कप्तान अप्सरीबाहेक कुनैपनि ब्याटर टिक्नै सकेनन् । पाँच ब्याटर दोहोरो अंकको रन जोड्न असफल भए । ओपनर अप्सरीले ३८ बलमा ३५ रन बनाइन् । उनको इनिङमा दुई चौका र एक छक्का रह्यो । बलर सबनम राईले ७ बलमा ८ रन जोडिन् । यो नै दोस्रो ठुलो व्यक्तिगत स्कोर रह्यो ।

बागमतीको बलिङमा खुसी डंगोल र मनीषा उपाध्यायले समान दुई विकेट लिँदै कसिलो बलिङ गरे । त्यसअघि दिनको पहिलो खेलमा एपिएफकी कप्तान सीता रानामगरले अलराउण्डर प्रदर्शन गर्दै तेस्रो जित दिलाइन् ।

उनले ५० रनको अर्धशतकसँगै एक विकेट पनि लिइन् । ललितपुर मेयर्स–११ ले दिएको ७२ रनको लक्ष्य पछ्याएको एपिएफले ९.५ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनरद्वय सीताले ५० रन र ममता चौधरीले १६ रन जोडे । यी दुई पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै जितनजिक पुर्‍याए ।

दसौँ ओभरमा कृतिका मरासिनीले दुवैलाई आउट गरेका हुन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स–११ ले निर्धारित २० ओभर नै खेले पनि पाँच विकेटको क्षतिमा ७१ रन मात्र जोड्न सक्यो ।

कप्तान तथा ओपनर पूजा महतोले २४ रन र मोत्सनिका मरासिनीले २१ रन जोडिन् । त्यसबाहेक कुनै पनि ब्याटर दोहोरो अंकमा रन जोड्न असफल भए । एपिएफको बलिङमा रेखा रावल र कप्तान सीताले समान एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !