३ असार २०८१, आइतबार

विश्वकप तयारीका लागि गर्नसक्ने गरेका छौं: क्यान सचिव खड्का

प्रकाशित मिति :  23 May, 2024 10:27 am


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकपको तयारीका लागि क्यानले गर्नसक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको बताएका छन् ।

विश्वकपको तयारीका बारेमा न्युज एजेन्सी नेपालले गरेको कुराकानीमा पूर्वकप्तानसमेत रहेका खड्काले विश्वकप अगाडि नेपालले म्याच एक्सपोजर र अन्य आवश्यक सुविधाका विषयमा क्यानले राम्रो तयारी गरेको उल्लेख गरेका हुन् ।

उनले विश्वकपअगाडि ४० देखि ५० वटा ट्वान्टी–२० विश्वकप खेल्नुपर्छ भन्ने उद्देश्यअनुरूप नै नेपाली टोलीले क्रिकेट खेलेको बताए । फरक(फरक कन्डिसनमा नेपाली टिमले लगातार क्रिकेट खेलेको उनको भनाइ छ । यी सबै तयारी हेर्दा क्यानले खेलाडीलाई सबैथोक दिएको उनको विश्वास छ ।

पूर्वकप्तान खड्काले नेपाली टोलीबाट समर्थकले धेरै नै अपेक्षा गर्ने गरेको बताए । सामाजिक सञ्जालको महोल नेपालले विश्वकप नै जित्नुपर्छ भन्ने खालको पनि रहेको पनि उनको भनाइ छ । अधिकांश टोलीले अमेरिका र वेस्ट इन्डिजमा नै बेस बनाएर तयारी गरिरहेको उनले बताए ।

खेलाडीमाथि धेरै दबाब सिर्जना गर्न नहुने र अहिले विश्वकप खेलेको सेलिब्रेसन गर्ने अवस्था रहेको क्यानका सचिव पारस खड्काको बुझाइ छ । नेपाली टोली वेस्ट इन्डिजमा अभ्यास सकेर अमेरिका पुगिसकेको छ । विश्वकप अगाडि नेपालले अमेरिकामा अभ्यास खेल पनि खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस !