१२ श्रावण २०८१, शनिबार

सप्ताहव्यापी कार्यक्रम गर्दै विश्व खाद्य स्वच्छता दिवस मनाउने तयारी

प्रकाशित मिति :  1 June, 2024 12:19 pm


काठमाडौं । विश्व खाद्य स्वच्छता दिवसको सन्दर्भ पारेर नेपालमा खाद्य स्वच्छता सप्ताह मनाउन सुरू गरिएको छ । ‘खाद्य स्वच्छतामा लगानी बढाऔँ अप्रत्याशित अवस्थाको पूर्वतयारी गरौँ’ भन्ने नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा विगत झैं यो वर्ष पनि जून १ (शनिवार) सप्ताहव्यापी कार्यक्रम सुरू गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विश्व खाद्य स्वच्छता दिवसको नारा तथा खाद्य स्वच्छता सम्वन्धी सूचना सन्देशका चेतनामूलक पर्चा पम्प्लेट प्रकाशन तथा वितरण गरि प्रचार प्रसार गर्ने कुरामा जोड दिएको छ ।

विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसन्धान अनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छी खाद्य पदार्थमा एण्टिबायोटिक अवशेष, खाद्यान्नमा ढुसीजन्य विशालुको समस्या रहेको औल्याउदैँ स्वास्थ्य तथा सवल जनशक्ती राष्ट्र निर्माणको महत्वपुर्ण आधार स्तम्भ भएकोले समग्र देश विकासका लागि समेत स्वच्छ र सन्तुलित खानपान अपरिहार्य रहेको विभागले जनाएको छ ।

खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम जनमानसमा पुर्याउन विभागले पन्ध्र वर्ष अघि देखि सुरू गरेको खाद्य स्वच्छता दिवसको अभियानलाई समर्थन हुने गरी कोडेक्स एलिमेन्टेरियस कमिशन, खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संगठन को प्रस्तावमा सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । विभागले विगतजस्तै यो वर्ष पनि सप्ताहव्यापी रूपमा दिवस मनाउने भएको छ।



प्रतिक्रिया दिनुहोस !