१२ श्रावण २०८१, शनिबार

तराईमा केही दिन अझै तातो हावा रहने चेतावनी, यसरी गर्नुहोस् आफ्नो सुरक्षा

प्रकाशित मिति :  9 June, 2024 6:52 am


काठमाडौँ। तराई क्षेत्रमा अझै केही दिन तातो हावा रहने भएकाले जल तथा मौसम विज्ञान विभागले सचेत बनाएको छ । विभागले तातो हावा रहने सम्भावित क्षेत्रहरुको संकेत नक्सा सार्वजनिक गर्दै यसबाट बच्ने उपायहरु सुझाएको हो ।

विभागका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।

आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने पूर्वानुमान विभागको छ ।

सामेवारसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको विभागले प्रकाशित गरेको विशेष बुलेटिनमा उल्लेख छ ।

सम्भावित असर तथा सुझावहरूः

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने जस्त लक्षण देखिन्छ।

सचेतनाका उपायहरूः

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन सकिनेछ।

विभागको मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिन हेर्दै दैनिक कार्यसूची बनाउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !