मुस्लिम समुदायको सांस्कृतिक धरोहरहरूको संरक्षण गर्न सरकारसँग माग

काठमाडाैँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायले प्रयोग गर्दै आएको मस्जिद, कब्रिस्तान र इदगाहको जग्गा संरक्षण गर्न सरकारसँग आग्रह गरेका छ्न् ।
मुस्लिम आयोगले आयोजना गरेको मुस्लिम समुदायको सांस्कृतिक धरोहरहरूको संरक्षण एवं विकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् । उनले मुस्लिम समुदायले प्रयोग गर्दै आएको मस्जिद, कब्रिस्तान र इदगाहको जग्गा हडप्ने काम भइरहेकोप्रति मुस्लिम समुदायले संरक्षणका लागि आग्रह गरेको बताए ।
उनले कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा सहकारीमन्त्री बलराम अधिकारलाई बोलाएर मुस्लिम समुदायका सांस्कृतिक धरोहरहरु संरक्षणका लागि आग्रह गरेको बताए ।
कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले गर्नसक्ने सहयोगका लागि आफू सधैँ सकारात्मक रहेको बताउनुभएको पनि अध्यक्ष अन्सारीले बताए । उनले अहिलेको सरकारको भावना पिछडीएका वर्गलाई सम्बोधन गर्ने रहेकाले मुस्लिम समुदायले पनि सोहीअनुसार न्याय पाउनेमा आशावादी रहेको बताए । अध्यक्ष अन्सारीले काठमाडौँका मुस्लिम समुदायले प्रयोग गर्दै आएको स्वयम्भूस्थित कब्रिस्तान सानो भएकाले सो बारेमा सरकारले सोच्नुपर्ने बताए ।
उनले भने,”कतिपय ठाउँमा चिहानको जग्गा मिचिरहेको अवस्था छ । स्थानीय निकायले समेत मिचिरहेको छ । यस्ता समस्याहरू छन् । काठमाडौँमा पहिलादेखिको चिहान एउटा छ, स्वयम्भूमा । विद्युत प्राधिकरण भएको ठाउँमा रत्नपार्कमा पहिला चिहान थियो । त्यो ठाउँमा सरकारले सट्टापट्टा गरेर स्वयम्भूमा दियो । त्यो अलि सानो ठाउँ दिएकाले पुरेर पनि हामीले चार, पाँच वर्ष अघिदेखि फेरि प्रयोग गर्ने कार्य भइरहेको छ ।”
अध्यक्ष अन्सारीले मुस्लिम समुदायको हक, अधिकार, उत्थानका लागि सरकारले आवश्यक काम गर्नेमा विश्वस्त रहेको बताए ।