१४ बैशाख २०८१, शुक्रबार

अतिक्रमित भूमि फिर्ता गर्नकै लागि नयाँ नक्सा प्रकाशित गरिएको हो: प्रधानमन्त्री ओली

प्रकाशित मिति :  19 May, 2020 1:43 pm


काठमाण्डौं, ६ जेठ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्धारा अतिक्रमित भूमि फिर्ता लिनकै लागि नेपालको नयाँ नक्सा प्रकाशित गरेको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथी उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले अब लिम्पियाधुरा,कालापानी र लिपुलेकको विषय ओझेलमा पर्न नदिने प्रतिबद्धता जनाए ।

उनले भने,‘लम्पियाधुरा, लिपुलेक,कालापानीको विषय अब ओझेल पर्न दिईने छैन । निष्कर्षमै पुराएर छोड्छौं । फिर्ता लिएरै छोड्छौं । यो विवादित भूमि नै होईन भारतले अतिक्रमण गरेर अनावश्यक विवादित बनाएको हो ।’

प्रधामन्त्री ओलीले कूटनीतिक वार्ताको माध्यमबाट ठोस पहल गरेर भूमि फिर्ता ल्याउने भन्दै त्यै अठोटका साथ अतिक्रिमित भूमि सामेल गरेर नक्सा ल्याएको जानकारी गराए ।

लिपुलेक, कालापानी सहितको भूभाग नेपालकै भएको भन्दै भारतले पछि नेपालीलाई जान रोकेको बताए । उनले भने,‘त्यो हाम्रो भूभाग हो २०१८ सालसम्म जनगणना र तिरो उठाउने काम भएको थियो । पछि जान नदिने र रोक्ने काम भयो ।’ प्रधानमन्त्री ओलीले १९६२ कालापानीमा भारतीय सेना बसेपछि हामीलाई उता जान रोकेको र तत्कालिन शासकले सहेको बताए ।

उनले भने,‘ म यस गरिमामय सदनलाई अवगत गराउन चाहन्छु यो कुनै चलाकी गर्ने हिसाबले तथाकथित राष्ट्रवाद देखाउनका लागि गरिएको होईन । यो फिर्ता लिनका लागि नै हो । यो हाम्रो भूभाग हो र हामी फिर्ता लिन्छौं ।’ आज भोलीमै नयाँ नक्सामा सार्वजनिक हुने प्रधानमन्त्री ओलीले संसदमा जानकारी गराए ।

प्रधानमन्त्री ओलीले केही दिनमै संविधान संसोधनका लागि पेश हुने जानकारी दिए । उनले भने,‘ संविधानको अनुसूची —३ जहाँ हाम्रो प्रतिक चिन्ह छ । त्यो संसोधनका लागि यहाँ सदनमा प्रस्तुत गरिने छ ।’ संविधान संसोधनका अन्य विषय भएपनि अहिले महत्वपूर्ण र अत्यन्त जरुरी विषय भएकाले तत्काल सदनमा संविधान संसोधन पेश गरिने जानकारी प्रधानमन्त्रीले दिए ।

नेपालको नयाँ नक्साका लागि संसोधन गर्नुपर्ने संविधानको अनुसूची

उनले भने,‘विषय अरु पनि हुन सक्छन् तर यो सबैभन्दा महत्वको वार्तासँग सम्बन्धित छ, भूमि फिर्तासँग सम्बन्धित छ र तात्कालिन जरुरी महत्वको विषय भएकाले यो संसदमा आउने छ र पारित हुने छ । ’

उनले नेपालको नक्सासहितको अनुसूची पारित भएपछि नेपालले दुविधारहित ढंगले भारतसँग वार्ताका लागि जान वार्ता तयारी पुरा हुने प्रधानमन्त्री ओलीको विश्वास छ । संविधान संसोधन भएको दिन देशभर दिपावली हुने ओलीले विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !