३१ भाद्र २०८१, सोमबार
धर्मकर्म

स्याङ्जाको छाङ्छाङ्दीमा साउनमा मात्रै १४ लाख भेटी संकलन

प्रकाशित मिति :  18 August, 2024 6:09 pm


फाेटाेः चन्दन केसी

काठमाडौँ । स्याङ्जाको छायाँक्षेत्र शिव मन्दिर (छाङ्छाङ्दी) मा साउन महिनामा मात्रै १४ लाख रुपैयाँ भेटी संकलन भएको छ । भीरकोट नगरपालिका वडा नम्बर ४ छाङ्छाङ्दीमा रहेको उक्त शिवमन्दिरमा साउनको सोमबार आउने भक्तजनबाट भेटी संकलनभएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताए ।

मन्दिरमा दर्शनका लागि आउने भक्तजनले दान गरेको, सहयोग रसिद, आजीवन सदस्यता, चामल बिक्री, पार्किङ व्यवस्थापन, बजार बिक्री कर, भजन मण्डली, दानपेटिका, द्रुत सेवा र क्युआर कोडमार्फत उक्त भेटी संकलन भएको हो ।

मन्दिरमा भजन मण्डलीद्वारा भजनकीर्तन गरिने हुँदा त्यहाँ धेरै भक्तजनले भेटी चढाउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । विभिन्न शीर्षकबाट संकलन भएको भेटीलाई बैंकिङ प्रणालीमार्फत खर्च गर्ने गरिएकाले पारदर्शितामा समितिले ध्यान दिएको उनले दाबी गरे ।

“संकलन भएको भेटीको सही सदुपयोग गरी सोहीमार्फत मन्दिरमा पूजापाठ सञ्चालन गर्ने, भौतिक पूर्वाधार विस्तार गर्ने गरिएको छ”,उनले भने ।

दिवङ्गत भएकी पत्नी पार्वतीको शव लिएर हिँड्नेक्रममा बाँकी रहेको अन्तिम अंग पनि पतन भएपछि पत्नी वियोगमा ब्याकुल बनेका महादेवले त्रिशूल प्रहार गरी पानी निकालेको र सोही पानी पत्थर भित्रैभित्रबाट छङ्छङ् गर्दै झरेकाले यसको नामकरण ‘छाङ्छाङ्दी’ भएको धार्मिक विश्वास रहेकाे छ ।

यस मन्दिरमा स्याङ्जासहित पोखरा, पाल्पा, बुटवल, चितवन, बागलुङ, पर्वत, तनहुँलगायत स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !