६ बैशाख २०८१, बिहिबार

प्रि-मनसुन सुरू, मनसुन १३ दिनपछि मात्र सुरू हुने

प्रकाशित मिति :  27 May, 2020 3:36 pm


काठमाडाैं, १४ जेठ । 

मनसुन सुरू हुन अघि प्रि मनसुनकाे प्रभाव देशभर पर्न थालेकाे छ । यतिबेला उपत्यका लगाएत देशका विभिन्न स्थानमा पानी परिरहेकाे छ भने बादल र हावाहुरीले मनसुन सुरू भएकाे जस्ताे लागे पनि मनसुन भने सुरू भइ सकेकाे छैन ।

प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा हुने भएकाे छ । मनसुन भित्र अझै १३ दिन बाँकी रहेको छ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हुने गर्छ ।

प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।  “प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ ।” उनले भने । अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ ।

आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यो मनसुन नभई प्रिमनसुनी गतिविधि रहेको मौसमविद्को भनाइ छ । दिउँसो देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागको केही स्थानका साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मध्याह्नपछि मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार देशको पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले औँल्याएको छ । शुक्रबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई पूर्व र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार बिहिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस रहने छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ४१ दशमलव ३ डिग्री सेल्सियस रहने छ ।



प्रतिक्रिया दिनुहोस !