२७ माघ २०८१, आइतबार

लागुऔषध काराेबारी नियन्त्रणमा लिँदा नवलपरासीमा गोली चल्याे

प्रकाशित मिति :  31 January, 2025 12:10 pm


दाङ । लागुऔषध काराेबारी नियन्त्रणमा लिँदा पश्चिम नवलपरासीमा गाेली चलेकाे छ । जिल्लाको रामग्राम नगरपालिका वडा नम्वर–१२ पचगाँवामा लागुऔषध कारोबारी नियन्त्रणमा लिन खाेज्दा गाेली चलेकाे हाे ।

लागुऔषध काराेबार भइरहेकाे सूचनाकाे आधारमा प्रहरीले अपरेशन सञ्चालन गर्दा गोली प्रहार गरी ५२ वर्षिय राजेश लोनियालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएकाे छ ।

लागुऔषध नियन्त्रण ब्युरो भैरहवा र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको संयुक्त टोलीले हिजाे राति रामग्राम नगरपालिका वडा नम्वर–१२ पचगाँवाका राजेश लोनियाको घरमा छापा मार्ने क्रममा घटनाको सुरुवात भएको थियाे । प्रहरीका अनुसार लोनियाको घर बाहिरबाट उनलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए।

प्रहरीका अनुसार, आफूहरू प्रहरी भएको जानकारी गराउँदा पनि लोनियाले प्रहरीको पेस्तोल खोस्न प्रयास गरेका थिए । आत्मरक्षाका लागि प्रहरीले तीन राउन्ड हवाई फायर गरेपछि भाग्न खोजेका लोनियालाई नियन्त्रणमा लिन गोली प्रहार हुँदा उनी घाइते भएका छन् ।

बायाँ खुट्टामा गाेली लागेर घाइते लोनियालाई जिल्ला अस्पताल परासीमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको जिल्ला कार्यालयले जनाएकाे छ।

प्रहरीले घटनास्थलबाट ९३ पुडिया ब्राउन सुगरजस्तो देखिने ९५.९८ ग्राम बराबरकाे लागुऔषध बरामद गरेको छ। सो कारोबारमा संलग्न रहेको अर्का एक व्यक्ति भने घटनास्थलबाट भाग्न सफल भएकाे प्रहरीकाे भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !