प्युठान शतप्रतिशत विद्युतीकरणको दिशामा : ४ करोड २० लाखको बजेट सुनिश्चित

प्युठान । प्युठानमा शतप्रतिशत विद्युतीकरण सम्पन्न हुने निश्चित भएको छ। यसका लागि करिब ४ करोड २० लाख रुपैयाँ बजेट सुनिश्चित भई आवश्यक प्रक्रिया अघि बढाइएको प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए ।
निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिवद्धता पुरा गर्न आफू लागिपरेकाे भन्दै थापाले विद्युतीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेकाे जानकारी दिए ।
नौबहिनी गाउँपालिका-१ स्याउलीबाङ र गौमुखी गाउँपालिका-३ रजबारामा बाँकी रहेको विद्युतीकरण सम्पन्न गर्न आवश्यक बजेट स्वीकृत भइसकेको भन्दै थापाले अब निर्माणका लागि टेण्डर आह्वान् गर्ने तयारी रहेकाे जानकारी दिए ।
“नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दम्तीस्थित सवस्टेसनको उद्घाटनका अवसरमा सार्वजनिक टेलिफोन संवादका क्रममा प्युठानमा शतप्रतिशत विद्युतिकरण पूरा गर्ने वचन दिनुभएकाे थियाे । बचन अनुसारकाे काम प्रारम्भ भएकाे छ”, नेकपा (एमाले) का पाेलिटब्युराे सदस्यसमेत रहेका थापाले भने, “नौबहिनी गाउँपालिका-१ स्याउलीबाङ र गौमुखी गाउँपालिका-३ रजबारामा बाँकी रहेको विद्युतीकरण सम्पन्न गर्न करिब ४ करोड २० लाख रुपैयाँ बजेट सुनिश्चित भई आवश्यक प्रक्रिया अघि बढेकाे छ ।”
उक्त क्षेत्रकाे विद्युतीकरणकाे यसअघि आधा बजेटको ठेक्का लगाइसकिएको भन्दै थापाले अब बाँकी रकमको ठेक्काका लागि गोरखापत्रमा चाँडै सूचना प्रकाशित गरिने जानकारी दिए ।
“विद्युत प्राधिकरणको नेतृत्व र सकारात्मक पहलका लागि सम्बन्धित सबैलाई धन्यवाद व्यक्त गर्दछु। प्युठानका बासिन्दाहरूका लागि यो खुशीको खबर बनेको छ, किनकि अब जिल्लाभर उज्यालो फैलिने निश्चित भएको छ”, थापाले भने ।



