१२ चैत्र २०८१, बुधबार

रोल्पामा बोलेरो गाडी दुर्घटना: शिक्षिकाको मृत्यु

प्रकाशित मिति :  8 February, 2025 8:23 am


रोल्पा । बोलेरो गाडी दुर्घटना हुँदा रोल्पामा शिक्षिकाको घटनास्थलमै मृत्यु भएको छ, भने उनका दुई साना छोरासहित अन्य घाइते भएका छन्।

माडी गाउँपालिकाको घर्तीगाउँबाट दाङतर्फ जाँदै गरेको लु १ च ९४०६ नम्बरको बोलेरो गाडी त्रिवेणी गाउँपालिका–७, गाङमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा परी गंगादेव गाउँपालिका–५, घोरनेटा निवासी २९ वर्षिया सीता खड्काको निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख भरत लामाले जानकारी दिए। खड्का रुन्टीगढी गाउँपालिकाको एक विद्यालयमा शिक्षण पेशामा संलग्न थिइन्।

दुर्घटनामा परी खड्काका दुई छोरा घाइते भएका छन्। प्रहरीका अनुसार, तीन वर्षिय छोरा र १८ महिनाका नाबालक छोरा उपचाररत छन्। प्रारम्भिक उपचारपछि उनीहरूलाई रोल्पा जिल्ला अस्पताल रेउघा पठाइएको थियो ।

बोलेरोमा शिक्षिका, उनका दुई छोरासहित चालक र सहचालक गरी पाँच जना सवार थिए। दुर्घटनापछि चालक र सहचालक फरार रहेको र उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !