अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३४ औँ वर्षमा प्रवेश : एक वर्षमा २७ हजार उजुरी फछ्याैट

काठमाडौँ । नेपालमा सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणको प्रमुख संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ।
स्थापना दिवसको अवसरमा आयोगले विविध कार्यक्रमसहित आफ्नो वार्षिकोत्सव मनाउँदैछ। टङ्गालस्थित आयोगको कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको छ ।
अख्तियारका सचिव घनश्याम उपाध्यायका अनुसार आयोगले भ्रष्टाचार नियन्त्रणका लागि दण्डात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक तथा संस्थागत क्षमता विकासका रणनीतिहरूलाई प्रभावकारी रूपमा अघि बढाउँदै आएको छ।
संवैधानिक अधिकार र दायित्व
नेपालको संविधानले अख्तियारलाई भ्रष्टाचार नियन्त्रणका लागि विशेष अधिकार प्रदान गरेको छ। संविधानको धारा २३९ अनुसार आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले भ्रष्टाचार तथा अख्तियार दुरुपयोग गरेको विषयमा अनुसन्धान गर्न, गराउन र आवश्यक कारबाहीका लागि मुद्दा दायर गर्न सक्ने व्यवस्था छ।
आयोगले भ्रष्टाचारविरुद्ध सशक्त रूपमा काम गर्न दण्डनीय कारबाहीका साथै रोकथामका उपायहरू अपनाउँदै आएको छ। सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अनियमितता नियन्त्रण गर्नका लागि आयोगले अनुसन्धान तथा अभियोजन प्रक्रिया मजबुत बनाउने लक्ष्य लिएको छ।
वार्षिक प्रतिवेदन: ३६ हजार उजुरी, २७ हजार फछ्र्यौट
आयोगको ३४ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा आयोग र मातहतका कार्यालयमा २६ हजार नौ सय १८ नयाँ उजुरी दर्ता भएका थिए।
गत आवबाट जिम्मेवारी सरेर आएका नौ हजार दुई सय ६८ उजुरीसमेत गरी कूल ३६ हजार एक सय ८६ उजुरीमध्ये २७ हजार सात सय १४ उजुरी फछ्र्यौट भएको छ।
यस अवसरमा अख्तियारले भ्रष्टाचार न्यूनीकरणका लागि सार्वजनिक सचेतना अभिवृद्धि, नीति तथा कानुनी सुधार, प्रविधिको अधिकतम प्रयोग तथा अनुसन्धान क्षमताको विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।