सांसद इश्वरी घर्ती मगरले प्रतिनिधि सभा बैठकमा सहिदमार्ग निर्माणकाे विषय उठाइन्

काठमाडौँ । सांसद इश्वरी घर्ती मगरले प्रतिनिधि सभा बैठकमा सहिदमार्ग निर्माणको विषयलाई उठाएकी छिन् । रोल्पा र आसपासका जिल्लाहरूलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सहिदमार्गको स्तरोन्नति, मर्मत तथा विस्तारका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिएकी हुन् ।
आइतबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा २०८१ माघ २५ गते रोल्पा, त्रिवेणी गाउँपालिका-७ मा भएको सवारी दुर्घटनामा ज्यान गुमाएकी विज्ञान शिक्षिका सीता खड्का वलीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकी छिन्।
रोल्पा, रुन्टिगढी-९ स्थित श्री जनकल्याण मावि सर्पालमा विज्ञान शिक्षिकाका रूपमा कार्यरत खड्काकाे असामयिक निधनले परिवार, शैक्षिक क्षेत्र तथा स्थानीय समुदायमा अपूरणीय क्षति पुगेको भन्दै सांसद घर्तीले दुःख व्यक्त गरिन्।
सांसद घर्तीले दुर्घटनामा गम्भीर घाइते भएका सीता खड्काका दुई छोराहरूको स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिन्। साथै, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराइन्।
उनले दुर्घटनाका कारणहरू गहिरिएर अध्ययन गरी पुनरावृत्ति रोक्न प्रभावकारी कदम चाल्नुपर्ने बताउँदै सडक सुरक्षाका उपायहरू लागू गर्न माग गरिन्।