१२ चैत्र २०८१, बुधबार

मानव बेचबिखन नियन्त्रण गर्न सिमाना र सम्बन्ध सुधार हुनुपर्छ-मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  10 February, 2025 2:36 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खुला सिमानाको सहज पहुँचलाई दुरुपयोग गर्दै मानव बेचबिखनका गिरोहहरू सक्रिय रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै, यस समस्याको समाधानका लागि दुई देशबीच विशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता मुख्यमन्त्री आचार्यले औंल्याएका हुन्।

सुरक्षित आप्रवासनमार्फत् मानव बेचबिखन नियन्त्रण सम्बन्धी इन्डो-नेपाल क्षेत्रीय संवाद कार्यक्रमको लुम्बिनीमा सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा शिक्षा, चेतना र रोजगारीको अभावले मानव बेचबिखनको समस्या देखिनु गम्भीर विषय भएको बताए ।

“लुम्बिनी प्रदेशको भारतसँग लामो सिमाना मात्र होइन, गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध पनि छ। त्यसैले, कतिपय समस्याहरू हामी छिमेकी मिलेर नै समाधान गर्न सक्छौं । तर, मानव बेचबिखन नियन्त्रण तथा सुरक्षित आप्रवासन सुनिश्चित गर्न राष्ट्रस्तरीय नीति आवश्यक पर्छ”, मुख्यमन्त्री आचार्यले भने, “दुवै देशले सिमानामा विशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ ।”

प्रदेश सरकारले सुरक्षित आप्रवासनलाई प्रवर्द्धन गर्दै अवैध आप्रवासन तथा मानव बेचबिखन रोक्न विभिन्न कार्यक्रम अघि सारेको मुख्यमन्त्री आचार्यले बताए ।

सचेतना अभियान सञ्चालन, सीपमूलक तालिम, सुरक्षित रोजगारीको प्रवर्द्धन तथा सीमा निगरानीलाई कडाइ गर्न प्रदेश सरकारले पहल गरिरहेको उनको भनाइ छ।

मुख्यमन्त्री आचार्यले नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा संयन्त्रलाई सशक्त बनाउन र मानव बेचबिखनविरुद्ध दुवै देशले साझा रणनीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

बेस संस्थाका संस्थापक तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल र भारतका नीति निर्माता, नागरिक समाज तथा सरोकारवालाको सहभागितामा सुरक्षित आप्रवासन र मानव बेचबिखन रोकथामका रणनीति, लुम्बिनी प्रदेशमा आप्रवासन तथा मानव बेचबिखन नियन्त्रणको रणनीति विकासबारे छलफल गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !