जनयुद्ध दिवसको अवसरमा विप्लव नेतृत्वको नेकपाद्वारा घोराहीमा जेब्रा क्रसिङ निर्माण

दाङ। नेपाल कम्युनिस्ट पार्टी (विप्लव) घोराही नगर समितिले जनयुद्ध दिवसको अवसरमा तुलसीपुर चोकमा जेब्रा क्रसिङ निर्माण गरेको छ। पैदलयात्रुको सुविधाका लागि गरिएको यो कार्यलाई स्थानीयहरूले सकारात्मक रूपमा लिएका छन्।
नेकपाका घोराही नगर इञ्चार्ज पाटन सीका अनुसार, सडकमा रहेका पुराना जेब्रा क्रसिङ मेटिँदै जानु र सम्बन्धित निकायले समयमा ध्यान नदिनु दुर्घटनाको प्रमुख कारक बन्न थालेपछि पार्टीले सामाजिक उत्तरदायित्वअन्तर्गत् यो पहल गरेको हो ।
“जेब्रा क्रसिङ अभावले पैदलयात्रुहरू जोखिम मोलेर सडक पार गर्न बाध्य थिए, जसले दुर्घटनाको जोखिम बढाएको थियो,” उनले भने ।
उनका अनुसार पार्टीले फागुन १ गते ३० औं महान जनयुद्ध दिवस मनाउने तयारी गरिरहेको छ। दिवसको पूर्वसन्ध्यामा सामाजिक कार्यका रूपमा जेब्रा क्रसिङ निर्माण गर्नुका साथै दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गर्ने योजना रहेको छ।
साथै, फागुन १ गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा विशेष कार्यक्रमसमेत गरिने जानकारी उनले दिए। यस कार्यमा ट्राफिक प्रहरीले समेत साथ दिएको बताइएको छ। ट्राफिक प्रहरीका अनुसार, जेब्रा क्रसिङ अभावका कारण पैदलयात्रुहरू मात्र नभई यातायात व्यवस्थापनमा पनि समस्या भइरहेको थियो।
“नयाँ जेब्रा क्रसिङले पैदलयात्रुहरूको सहज आवागमन सुनिश्चित गर्न मद्दत गर्नेछ,” ट्राफिक प्रहरीका एक अधिकारीले बताए।स्थानीय बासिन्दाहरूले यो कदमको प्रशंसा गर्दै सम्बन्धित सरकारी निकायहरूलाई समेत यस्ता आवश्यक पूर्वाधारहरू नियमित रूपमा मर्मतसम्भार गर्न आग्रह गरेका छन् ।
पार्टीका नेताकार्यकर्ताहरू बुधबार दिउँसो करिब एक बजे तुलसीपुर चोकमा पुगेर जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरेका थिए ।