१० चैत्र २०८१, सोमबार

अमेरिकाे सहायता रोकिँदै : नेपालका विभिन्न परियोजना प्रभावित

प्रकाशित मिति :  18 February, 2025 7:50 pm


दाङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विकास सहयोगका कार्यक्रमहरू कटौती गर्ने नीति अवलम्बन गरेपछि नेपालमा सञ्चालन भइरहेका विभिन्न परियोजनाहरू प्रभावित भएका छन् ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (USAID) मार्फत् शिक्षा, स्वास्थ्य, कृषि, उर्जा, लैंगिक समानता, महिला सशक्तिकरण, जैविक विविधता संरक्षणजस्ता क्षेत्रमा उपलब्ध गराउँदै आएको सहयोग रोक्ने निर्णय ट्रम्प प्रशासनले गरेको छ।

अमेरिकी सरकारले हालै मात्र नेपालको स्थानीय सरकारलाई प्रदान गरिँदै आएको सहायता रकम कटौती गर्ने घोषणा गरेको छ । यससँगै जैविक विविधता संरक्षण तथा लैंगिक समानता प्रवर्द्धनका कार्यक्रमहरू प्रभावित हुने देखिएको छ ।

अमेरिकी सहायता रोक्ने निर्णयले नेपालका विभिन्न परियोजनाहरू संकटमा पर्ने अवस्था सिर्जना भएको छ । नेपालमा अमेरिकी सहयोग रोकिएपछि यसबारे सामाजिक सञ्जाल र विभिन्न मिडियामा विभिन्न अड्कलबाजी र समाचारहरू देखा पर्न थालेका छन् ।

कतिपय संस्थाहरूले कसरी, कुन प्रयोजनका लागि सहायता लिएको थियो भन्ने विषयमा विवाद उत्पन्न भएको छ। कतिपय समाचारहरू सत्यता परीक्षण नगरी प्रकाशित भइरहेकाले दातृ निकायहरूको सहयोगमाथि नै प्रश्न उठ्न थालेको छ।

ट्रम्प प्रशासनले USAID को भूमिका सीमित गर्दै यसलाई नै बन्द गर्ने संकेत गरेको छ, जसले नेपालसहित विश्वभरका USAID समर्थित परियोजनाहरूलाई असर पुर्याउनेछ। सहायता रोकिएपछि विशेषगरी ग्रामीण भेगमा सञ्चालित परियोजनाहरूमा प्रत्यक्ष प्रभाव पर्ने बताइएको छ।

नेपाल सरकार र सम्बन्धित निकायहरूले यसबारे औपचारिक प्रतिक्रिया नदिए पनि सहायता कटौतीको असर कम गर्न वैकल्पिक स्रोत खोज्ने प्रयास भइरहेको बताइएको छ।

विकास साझेदारी कमजोर हुँदै गएमा शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरणजस्ता क्षेत्रमा असर पर्न सक्ने विज्ञहरू बताउँछन्।



प्रतिक्रिया दिनुहोस !