१२ चैत्र २०८१, बुधबार

मुख्यमन्त्री आचार्यद्वारा पाण्डवश्वर धाममा पूजा-अर्चना

प्रकाशित मिति :  26 February, 2025 11:13 am


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महाशिवरात्रि पर्वका अवसरमा दाङको पवित्र धार्मिक तीर्थस्थल पाण्डवश्वर धाम, धारपानीको मूल मन्दिरमा पूजा-अर्चना गरेका छन् ।

घोराही उपमहानगरपालिका–५ स्थित धारपानी मन्दिरमा आयोजित विशेष पूजामा मुख्यमन्त्री आचार्यले सहभागी भई विधिपूर्वक पूजा गरेका हुन् ।

यस अवसरमा नेपाली सेनाको एक टुकडीले त्रिशूललाई सलामी अर्पण गरेको थियो। कार्यक्रममा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सिता शर्मा, प्रदेशसभा सदस्य लोका विश्वकर्मा, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल लगायतको विशेष उपस्थिति रहेको थियो ।

धार्मिक र ऐतिहासिक रूपमा महत्वपूर्ण मानिने पाण्डवश्वर धाम महाभारतकालसँग जोडिएको मान्यता रहेको छ । जनविश्वासअनुसार, पाण्डवहरू वनवासका क्रममा यहाँ आएर तपस्या गरेका थिए, जसका कारण यस स्थानको नाम ‘पाण्डवश्वर धाम’ रहन गएको हो ।

महाशिवरात्रि, हरितालिका तीज, बालाचतुर्दशी लगायतका हिन्दू पर्वहरूमा यस मन्दिरमा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ । पाण्डवश्वर धाम धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक रूपमा समेत आकर्षक गन्तव्य हो । यहाँ रहेका प्राचीन गुफा, जलस्रोत, हरियाली वातावरण तथा शान्तिपूर्ण परिवेशले पर्यटकहरूलाई समेत आकर्षित गर्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !