रुकुमपूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध : यात्रुको ४८ घण्टापछि उद्धार

दाङ । रुकुमपूर्वमा निरन्तर परेको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुको सफल उद्धार गरिएको छ ।
शुक्रबार रातिदेखि परेको हिमपातका कारण रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेका तीनवटा बससहित अन्य साना सवारीसाधन रोकिएका थिए ।
हिमपातका कारण बाटो बन्द हुँदा यात्रुहरू शुक्रबार दिउँसोदेखि नै रुकुमपूर्व र बागलुङको सीमावर्ती क्षेत्र पार गर्न नसकी बीच बाटोमै अलपत्र परेका थिए ।
रुकुमपश्चिमबाट काठमाडौँतर्फ जाँदै गरेको बस शुक्रबार दिउँसो पातिहाल्ना नजिक पुगे पनि बाक्लो हिउँ जमेकाले अघि बढ्न सकेन ।
यात्रु प्रेमिका मल्लका अनुसार, होटलको सुविधा अभावका कारण यात्रुहरूले रातभर तथा शनिबारभरि पनि बसमै समय बिताउनुपर्यो ।
साथै, पातिहाल्ना क्षेत्रमा रहेका दुई साना होटलमा सबै यात्रुहरू अटाउन नसक्दा ४८ घण्टासम्म धेरैले खानासमेत पाउन सकेनन् ।
शनिबार दिनभरि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा हिउँ पन्छाउने कार्य भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो। मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना खण्डको लगभग पाँच किलोमिटर र बागलुङ खण्डको दुई किलोमिटर क्षेत्रमा रहेको बाक्लो हिउँ हटाइएपछि अवरुद्ध मार्ग खुलाइएको हो।
हिउँ पन्छाएपछि रुकुमपश्चिमबाट काठमाडौँतर्फ गएका बसहरूलाई वारपार गराइएको छ भने, साना सवारीसाधनहरूलाई पनि गन्तव्यतर्फ जान अनुमति दिइएको छ। रुकुमपूर्वका प्रहरी निरीक्षक हिमबहादुर केसीका अनुसार, उद्धार कार्यपछि रातिको समयमा उक्त सडक भएर बस नचलाउन आग्रह गरिएको छ।
रुकुमपूर्व र बागलुङको सीमाक्षेत्रमा हरेक वर्ष जाडोयाममा हिमपातका कारण लोकमार्ग अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ। प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार, आइतबार बिहान मार्गको अवस्था मूल्याङ्कन गरी यातायात सञ्चालनबारे थप निर्णय गरिनेछ।