३ चैत्र २०८१, सोमबार

स्वर्गद्वारी गुठी पीडितको आन्दोलन : ४० जना घाइते

प्रकाशित मिति :  3 March, 2025 7:35 am


दाङ । स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच भएको झडपमा ४० जना घाइते भएका छन्, भने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो संसद भवन हुँदै माइतीघर मण्डलातर्फ आउँदै गरेको स्वर्गद्वारी गुठी पीडितको आन्दोलनलाई प्रहरीले रोक्न खोज्दा चाइनापुल नजिकै दुबै पक्षबीच झडप भएको हो ।

स्वर्गद्वारी गुठी पीडित संघर्ष समितिकी सदस्य रूपा चौधरीका अनुसार झडपमा किसान पक्षबाट ३० जना र सुरक्षाकर्मी पक्षबाट १० जना घाइते भएका छन् ।

प्रहरीले दाङ, घोराही उपमहानगरपालिका-१४ झिगौरा निवासी लालबहादुर चौधरी, विमला चौधरी, प्रविण चौधरीसहित १२ जनालाई पक्राउ गरेको छ ।

अन्य पक्राउ परेका व्यक्तिहरूमा पिमा चौधरी, सुनिता चौधरी, बिन्दु कुमाल, रमा चौधरी, रमेश चौधरी, भरत चौधरी, धनिराम चौधरी, शेरबहादुर चौधरी र बालकृष्ण चौधरी रहेका छन् ।

पक्राउ परेकाहरूलाई काठमाडौं प्रहरी परिसर, भद्रकालीमा राखिएको छ। उनीहरू घाइते अवस्थामा रहेको किसान संघर्ष समितिले जनाएको छ ।

झडपमा सुरक्षाकर्मीतर्फ एकजना डिएसपीसहित केही प्रहरी जवान पनि घाइते भएका छन् । आन्दोलनरत किसानहरूले हलो, जुवा, नारी जोत्ने शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

गत माघ २० गतेदेखि स्वर्गद्वारी गुठी पीडित करिब १०० जना किसान माइतीघर मण्डलामा धर्नामा बसेर आन्दोलन गर्दै आएका छन्। चिसो मौसमका कारण अधिकांश किसान बिरामी परेका छन् ।



प्रतिक्रिया दिनुहोस !