समाजमा नैतीक शिक्षा र अनुशासनको खाँचो-पूर्वप्रधानमन्त्री खिलराज रेग्मी

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समाजमा अनुशासन, नैतिकता र सदाचारको अभाव बढ्दै गइरहेको भन्दै शिक्षण प्रणालीमा नैतिक शिक्षा अनिवार्य बनाउनुपर्ने सुझाव दिएका छन् ।
सोमबार राष्ट्रपति कार्यालयमा आयोजित ‘नरकान्त योग राष्ट्रिय पुरस्कार’ तथा ‘भैरव सदाचार राष्ट्रिय पुरस्कार’ समर्पण कार्यक्रममा बोल्दै उहाँले समाजमा अहंकार, दम्भ, र प्रतिस्पर्धात्मक घमण्ड हावी हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
रेग्मीले भन्नुभयो, “आज समाजमा नैतिकता, सदाचार र आदर्शका गुणहरू क्रमशः हराउँदै गएका छन् । मानवता र सदाचार जस्ता विषयको शिक्षा उपेक्षित बन्दै गएको छ । अनुशासन, विनम्रता र सभ्य वाणी लोप हुँदै जाँदा स्वार्थका लागि जे पनि गर्ने प्रवृत्ति मौलाएको देखिन्छ। अरुलाई घोचपेच गरेर खुशी हुने तथा त्यसैमा गर्व गर्ने प्रवृत्ति बढ्नु समाजका लागि घातक संकेत हो ।”
उनले समाजलाई अनुशासित र चरित्रवान बनाउन शिक्षाको आधारभूत संरचनामा सुधार आवश्यक रहेको बताउँदै सिकाइ पद्धतिलाई नैतिक मूल्य र मानवतासँग जोड्नुपर्नेमा जोड दिए । उक्त अवसरमा सर्वोदय सेवा संघ ले खिलराज रेग्मीलाई ‘भैरव सदाचार राष्ट्रिय पुरस्कार २०८१’ प्रदान गरेको थियो ।