१२ चैत्र २०८१, बुधबार

होली शुरुः हनुमानढोकामा तीनतले चीर ठड्याइयो

प्रकाशित मिति :  7 March, 2025 9:51 am


काठमाडौँ । काठमाडौँको ऐतिहासिक वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएपछि देशभर होली पर्वको औपचारिक सुरुआत भएको छ।

गद्दी बैठकको दक्षिणतर्फ शुक्रबार (आज) बिहान ८ः३३ बजे शुभ साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याए। चीर ठड्याएसँगै एकअर्कालाई अबिर लगाएर उत्सवको शुरुआत गरिएको हो ।

यसै अवसरमा पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होलीको संकेत दिइएको छ।

चीर ठड्याउने परम्परालाई असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ। मानन्धर समुदायका गजेन्द्र मानन्धरका अनुसार, चीर भगवान विष्णुलाई प्रिय रहेको बाँसबाट बनाइन्छ, जसको धार्मिक महत्व परापूर्वकालदेखि रहिआएको छ ।

उनले भने, “होली असत्यमाथि सत्यको विजयको प्रतीक हो, जसलाई भगवान श्रीकृष्णको कथासँग पनि जोडिएको छ। चीर ठड्याइएसँगै विधिवत रूपमा होली पर्व सुरु भएको मानिन्छ ।”

यस वर्ष फागुन २९ गते पहाडी तथा हिमाली जिल्लामा र चैत १ गते तराई जिल्लामा होली पर्व मनाइनेछ। यी दिनहरूमा सार्वजनिक बिदा दिइएको छ।



प्रतिक्रिया दिनुहोस !