१२ चैत्र २०८१, बुधबार

चीनद्वारा सञ्चार प्रविधि परीक्षण उपग्रह सफल प्रक्षेपण

प्रकाशित मिति :  10 March, 2025 11:21 am


काठमाडाैँ । चीनले सोमबार बिहान नवीनतम सञ्चार प्रविधि परीक्षणका लागि नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान १:१७ बजे (बेइजिङ समय) लङ मार्च–३ बी रकेटद्वारा उक्त उपग्रह प्रक्षेपण गरिएको हो । यस प्रक्षेपणपछि उपग्रह योजनावद्ध कक्षामा सफलतापूर्वक प्रवेश गरिसकेको छ।

प्रक्षेपण केन्द्रका अनुसार उक्त उपग्रह बहु-ब्यान्ड तथा उच्च-गति सञ्चार प्रविधिको प्रमाणीकरण गर्ने उद्देश्यले अन्तरिक्षमा पठाइएको हो। यसका माध्यमबाट चीनको भविष्यमा सञ्चार प्रविधिसम्बन्धी अनुसन्धान तथा प्रविधि परीक्षणलाई थप सशक्त पार्ने लक्ष्य राखिएको छ।

यो प्रक्षेपण चीनको लङ मार्च वाहक रकेट श्रृङ्खला अन्तर्गत ५६२ औं मिसन थियो। चीन पछिल्लो समय अन्तरिक्ष प्रविधिमा उल्लेखनीय प्रगति गर्दै आएको छ, जसअन्तर्गत नवीनतम प्रविधिहरूको परीक्षण र व्यावहारिक उपयोगका लागि निरन्तर अनुसन्धान तथा विकास कार्य भइरहेका छन्।

चीनले आगामी वर्षहरूमा समेत विभिन्न सञ्चार, अन्तरिक्ष अन्वेषण, तथा वैज्ञानिक अनुसन्धान सम्बन्धी उपग्रह प्रक्षेपणलाई निरन्तरता दिने बताएको छ।



प्रतिक्रिया दिनुहोस !