रुसी सेनामा कार्यरत राेल्पाका निवर्तमान वडाअध्यक्षको मृत्यु,भन्थे,‘बच्चाहरूको भविष्यका लागि यस्तो निर्णय गरें’

रोल्पा । रुसी सेनामा कार्यरत रोल्पाकाे सुनछहरी गाउँपालिका-५ का निवर्तमान वडाअध्यक्षको मृत्यु भएको छ ।
सुनछहरी गाउँपालिका–५ कसलाका ४४ वर्षीय तिर्खबहादुर बुढाथोकीको फागुन २४ गते युक्रेनी सेनाको ड्रोन आक्रमणमा परेर मृत्यु भएको हो ।
झण्डै डेढ वर्षदेखि रुसी सेनामा कार्यरत बुढाथोकीको ज्यान गएको खबर उनका साथीले परिवारलाई जानकारी गराएका हुन् । बुढाथोकी फागुन १३ गतेदेखि सम्पर्कविहीन भएका थिए ।
उनका साथीहरूले बुढाथोकीलाई ‘बमले उडाएको’ आफूहरूले देखेको खबर परिवारलाई पठाएका थिए । मृत्युको खबर सुनेपछि उनको घरमा काजकिरियाको काम सुरु भएको पारिवारिक श्रोतले जनाएको छ ।
बुढाथोकी २०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेको तर्फबाट सुनछहरी गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
‘बच्चाहरूको भविष्यको लागि आएँ’
बुढाथोकी २०७९ सालको स्थानीय चुनावमा पनि वडा नम्बर ५ को अध्यक्ष उठेका थिए तर उनी नेकपा माओवादीका उम्मेदवारसँग पराजित भए । चुनावमा पराजित भएपछि उनी निराश थिए ।
बुढाथोकीले पूर्वी रोल्पाको मुख्य बजार सुलीचौरमा घर समेत बनाएका थिए । चुनावमा पराजित र घर बनाउँदाको ऋणले उनी दबाबमा भएको साथीभाइसँग बताउने गरेका थिए ।
ऋणको दबाब र राजनीतिबाट निराश बुढाथोकी रुसी सेनामा भर्ना हुन पुगेका थिए । उनले रुसी सेनामा भर्ना हुँदा सुनेको जस्तो नभएको बताउने गरेका थिए । साथीहरूसँग उनले भनेका थिए,“ रोल्पाबाट आउँदा जस्तो सोंचिएको थियो त्यस्तो छैन स्थिति फरक छ । सबैभन्दा ठुलो भाषा छ । भाषा नबुझ्दा गाह्रो छ ।”
उनले ‘जसले पायो त्यसले राजनीति गर्न नसक्ने रहेछ’ भन्दै गुनासो गर्ने गरेका थिए । उनले भन्ने गरेका थिए,“राजनीतिमा सबै परिस्थिति बुझेपछि राजनीतिमा चासो मरेको हो । अर्को कुरा सुलिचौरमा घर बनाउँदा ऋण पनि लाग्यो । नबनाएको हुने रहेछ । ऋणले थिचेपछि थिचेको थिचि हुँदो रहेछ ।”
उनले आफ्नो भविष्य जोखिममा देखेपछि बच्चाको भविष्यको लागि रुसी सेनामा भर्ना हुन जाने निर्णय गरेको बताउँथे । उनले साथीहरूसँग भनेका थिए,“ मेरो भविष्य त जोखिममा थियो अब बच्चाहरूको भविष्य जोखिममा नपरोस भनेर, उनीहरूको भविष्य सुरक्षित गर्दिन पर्यो भनेर निस्केको हो ।”