१२ चैत्र २०८१, बुधबार

तराईमा होली हर्षोल्लासपूर्वक मनाइँदै

प्रकाशित मिति :  14 March, 2025 8:00 am


काठमाडौँ । रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । पहाडी तथा हिमाली जिल्लाहरूमा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लाहरूमा होली मनाउने परम्पराअनुसार आज विभिन्न स्थानमा धुमधामका साथ होली मनाइँदै छ ।

आज दाङसहित तराईका नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होलीको उल्लास छाएको छ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिसँग जोडिएर फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको हो। होलीको अवसरमा रङ्ग, नाचगान, खानपान, मनोरञ्जनका साथै ढोल, डम्फु, मृदङ्ग बजाउँदै आपसी भेदभाव मेट्ने र भ्रातृत्व भावना बढाउने परम्परा रहिआएको छ।

यस अवसरमा विभिन्न ठाउँमा होली विशेष कार्यक्रमहरू आयोजना गरिएका छन्। प्रहरी प्रशासनले होलीलाई शान्तिपूर्ण र मर्यादित बनाउन विशेष सुरक्षा व्यवस्थासमेत मिलाएको छ।

पहाडी जिल्लाहरूमा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लाहरूमा आज सार्वजनिक बिदा दिइएको छ।



प्रतिक्रिया दिनुहोस !