१९ मंसिर २०८२, शुक्रबार

इजरायली हवाई आक्रमणमा जबालियामा ६५ प्यालेस्टिनीको मृत्यु

प्रकाशित मिति :  15 May, 2025 9:12 am


काठमाडाैँ । उत्तरी गाजामा रहेको जबालिया शरणार्थी शिविर र जबालिया शहरमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा ६५ जना प्यालेस्टिनीको ज्यान गएको छ । प्यालेस्टिनी नागरिक रक्षा तथा चिकित्सा अधिकारीहरूले बुधबार जानकारी दिएका हुन् ।

गाजाको नागरिक रक्षा प्रवक्ता महमूद बसालकाका अनुसार बासिन्दाहरू निद्रामा रहेका बेला इजरायली आक्रमणले जबालियाको ६ आवासीय भवनहरूलाई लक्षित गरेको हो । ‘‘उनीहरू सुतिरहेका बेला एकाएक विस्फोट भयो, उद्धार टोलीले लगातार शव निकालिरहेको छ,’‘ बसालकाले भने ।

इण्डोनेसियाली अस्पतालका एक चिकित्सा स्रोतका अनुसार आक्रमणपछि अस्पतालका करिडोरमा आपतकालीन शल्यक्रिया भइरहेको छ। ‘‘अस्पताल क्षमताभन्दा बढी भरिएको छ, घाइतेहरूलाई उपचार गर्न हम्मेहम्मे परेको छ,’‘ स्रोतले बताएका छन् ।

प्रत्यक्षदर्शीहरूले आक्रमणमा परेका घरहरू स्थानीय परिवारका रहेको र ती घरहरूमा अन्य स्थानबाट भागेर आएका विस्थापितहरू बसिरहेका बताएका छन् ।

इजरायली सेनाले जबालियामा भएको आक्रमणबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । पछिल्ला दिनहरूमा गाजामा इजरायली हवाई आक्रमणहरू तीव्र बन्दै गएका छन् ।



प्रतिक्रिया दिनुहोस !