कृषि तथा पशुपालनकाे क्षेत्रलाई ३० प्रतिशत बजेट छुट्याउन राष्ट्रिय जनमोर्चाको माग
दाङ । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठकमा आज विभिन्न दलका नेताहरूले आगामी बजेटलाई जनमुखी, आत्मनिर्भर र उत्पादनमुखी बनाउन सुझाव दिएका छन्।
राष्ट्रिय जनमोर्चा ससदिय दलका नेता तारा थापाले प्रदेश सरकारले स्वामिमानी र आत्मनिर्भर बजेट प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै आगामी बजेटमा कृषि तथा पशुपालन क्षेत्रलाई ३० प्रतिशत बजेट छुट्याउनुपर्ने माग गरिन् ।
नेता थापाले कृषि र उर्जालाई जोडेर उत्पादन वृद्धि गर्ने खालको बजेट बनाइनु आवश्यक रहेको उल्लेख गर्दै प्रांगारिक मलको प्रयोगलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्नुपर्ने बताइन् ।
उनले नीति तथा कार्यक्रम र बजेटबीच समन्वय हुनुपर्नेमा जोड दिँदै एकातर्फ नीति तथा कार्यक्रम र अर्कोतर्फ बजेट ल्याउनु उचित नहुने धारणा व्यक्त गरिन् । अधुरा योजनाहरू पूरा गर्न विशेष बजेट छुट्याउनुपर्ने सुझाव पनि नेता थापाले दिइन् ।
थापाले महिलाको जनसंख्या उच्च रहेको लुम्बिनी प्रदेशमा महिलालाई आत्मनिर्भर बनाउन विशेष कार्यक्रमसहितको बजेट तयार पार्न आग्रह गरिन् ।
प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम निर्माणका सन्दर्भमा विभिन्न दलका नेताहरूले आफ्ना धारणा राखिरहेका छन्।








