लुम्बिनी प्रदेशसभामा किसानमुखी र पर्यटनमैत्री बजेट निर्माणको माग
दाङ । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठकमा आज जनमत पार्टीका नेता चन्द्रकेश गुप्ताले किसानमुखी, पर्यटनमैत्री र सेवा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
नेता गुप्ताले मुलुकका दुई ठूला दलको संयुक्त सरकार रहेको अवस्थामा पनि विकासमा अपेक्षित गति आउन नसकेकोमा चिन्ता व्यक्त गर्दै यस्तो अवसरमा पनि देश र प्रदेशको विकास गर्न नसके कहिल्यै विकास सम्भव नहुने बताए ।
उनले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर आगामी बजेट ल्याउनुपर्ने माग गरे । कृषकलाई आत्मनिर्भर बनाउने बजेट तयार गर्नुपर्ने उल्लेख गर्दै गुप्ताले लुम्बिनी प्रदेशमा भारतबाट आउने पर्यटकहरूलाई सहज सेवा दिने व्यवस्था मिलाउन आग्रह गरे ।
उनले भन्सार नाकामा भारतबाट आउने चारपांग्रे गाडी र मोटरसाइकलको व्यवस्थापन सरल बनाउनुपर्ने माग गरे । बेलैया नाकामा बिचौलियाहरूको दबदबा रहेको भन्दै उनले व्यवसायीहरू मर्कामा परेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए ।
पर्यटकमैत्री विशेष बजेट निर्माण गर्न माग गर्दै गुप्ताले भारतबाट आउने पर्यटकहरूलाई अनावश्यक रूपमा ठाउँठाउँमा चेकजाँच गरिने प्रथाले उनीहरू हैरानीमा पर्ने भन्दै सीमामा मात्र कडाइ गरिनुपर्ने र अन्यत्र सहजता अपनाउनुपर्ने धारणा व्यक्त गरे ।
प्रदेश सभामा नेता गुप्ताले प्रदेशको समग्र विकासका लागि किसान, पर्यटक र सेवा क्षेत्रलाई जोड्ने खालको प्रभावकारी बजेट आवश्यक रहेको औंल्याएका छन् ।








