१९ मंसिर २०८२, शुक्रबार
लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठक

जलन उपचार केन्द्र, लागुऔषध नियन्त्रण र सीप विकासलाई नीति कार्यक्रममा समेट्न माग

प्रकाशित मिति :  15 May, 2025 3:37 pm


दाङ । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठकमा प्रदेश सभा सदस्य बसन्ती न्यौपानेले प्रदेशमा बढ्दो आगलागी घटनालाई मध्यनजर गर्दै पायक पर्ने स्थानमा जलन उपचार केन्द्र स्थापना गर्नुपर्ने माग गरेकी छन् ।

उनले यो विषयलाई प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिइन् । सदस्य न्यौपानेले विद्यालयमा बढ्दो लागुऔषध प्रयोग नियन्त्रणका लागि हरेक विद्यालयमा मनोपरामर्श शिक्षक राख्ने व्यवस्था नीति तथा कार्यक्रममा समेट्नुपर्ने बताइन् । उनले ‘एक विद्यालय, एक परामर्शदाता’ कार्यक्रमलाई प्रदेशस्तरीय प्राथमिकतामा राख्नुपर्ने माग गरिन् ।

त्यसैगरी, संघीय सरकार मातहतमा रहेको बाँकेको व्यवसायिक तथा सीप विकास कार्यालयलाई प्रदेश मातहतमा ल्याई सञ्चालन गर्नुपर्ने सुझाव दिँदै न्यौपानेले सो कार्यालय १९० वटा सीप प्रदान गर्ने पूर्वाधारसहित रहे पनि हाल सो पूर्वाधार क्षतिग्रस्त हुँदै गएकामा चिन्ता व्यक्त गरिन् । उनले प्रदेशलाई सीपयुक्त बनाउने विषयलाई समेत नीति तथा कार्यक्रममा समेट्न सरकारलाई आग्रह गरिन् ।

सदस्य न्यौपानेले गर्भपतनले महिलाहरूको स्वास्थ्यमा जोखिम बढिरहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गरिन् । उनले महिलाको स्वास्थ्य सुरक्षाका लागि विशेष बजेट र कार्यक्रम ल्याउनुपर्ने माग समेत गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !