दलित अधिकार ऐन छिटो ल्याउन माग
प्रकाशित मिति : 15 May, 2025 4:28 pm
दाङ । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठकमा प्रदेश सभा सदस्य लोकीकुमारी बिकले प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रम र बजेट परिणाममुखी र समावेशी बनाउनु पर्नेमा जोड दिएकी छन् ।
सदस्य बिकले बजेट केवल वितरणमुखी नभई परिणाममुखी हुनुपर्ने माग गर्दै बजेट विनियोजन गर्दा प्रदेशका भौगोलिक विकटता, दुर्गम क्षेत्र र पिछडिएका समुदायको अवस्था विचार गर्नुपर्ने बताइन् ।
उनले दलित अधिकार ऐन छिटो निर्माण गरी कार्यान्वयनमा ल्याउन प्रदेश सरकारलाई आग्रह गरिन् । साथै, लक्षित समुदाय र सबै जातजाति तथा भूगोलका माग समेटिने गरी समावेशी र न्यायपूर्ण नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा पनि सदस्य बिकले जोड दिइन् ।
उनले प्रदेश सरकारलाई विविध समुदायका अधिकार सुनिश्चित गर्दै समान अवसर र समावेशी विकासमा ध्यान दिनुपर्ने आग्रह गरिन् ।








