पहुँचकेन्द्रित र वितरणमुखी बजेट रोक्न प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठको आग्रह
दाङ । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठकमा प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले प्रदेशको आगामी नीति तथा कार्यक्रममा समावेशी स्वरुप प्रस्ट देखिनुपर्ने माग गरेकी छन् ।
उनले नीति तथा कार्यक्रम जनतामुखी बनाउँदै भौगोलिक विकटता र जनताको आवश्यकता अनुसार बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिइन् ।
सदस्य श्रेष्ठले बजेट सिलिङ घट्दै गर्दा पनि मन्त्रीहरूको निर्वाचन क्षेत्र वा घर वरिपरि मात्रै बजेट थुपार्ने प्रवृत्ति बढेको भन्दै यस्ता अभ्यास तत्काल बन्द गर्नुपर्ने बताइन् ।
उनले बजेट वितरण पहुँच र शक्तिका आधारमा नभई वास्तविक आवश्यकता र भौगोलिक विकटताका आधारमा हुनुपर्ने स्पष्ट पारिन् ।
उनले प्रदेश सभा सदस्यहरूलाई तर्साउने, धम्क्याउने प्रवृत्ति देखा परेको भन्दै यस्तो प्रवृत्ति तत्काल रोक्न सरकारलाई आग्रह गरिन् ।
साथै, श्रेष्ठले स्थानीय तहबाट आउने राजश्व सङ्कलनमा कडाइ गर्नुपर्ने बताउँदै, राजश्व नपठाउने स्थानीय तहहरूलाई दिने सुविधा कटौती गर्नुपर्ने माग गरिन् । उनले सम्बन्धित मन्त्रालयलाई यस विषयमा गम्भीर बन्न आग्रह गरिन् ।








