हरिशयनी एकादशी आज : चतुर्मास व्रत आरम्भ, घरघरमा तुलसीको पूजा आराधना सुरु

काठमाडौँ । सनातन वैदिक परम्पराअनुसार आज आषाढ शुक्ल एकादशी, अर्थात् हरिशयनी एकादशीको अवसरमा घरघरमा तुलसीको मोठमा राखेर चार महिनासम्म गरिने विशेष पूजा आराधना सुरु हुँदैछ ।
आजको दिनलाई धार्मिक रूपमा विष्णु शयन आरम्भको दिनका रूपमा लिइन्छ । यही दिनदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्मका चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । यही कारण आजको एकादशीलाई हरिशयनी वा देवशयनी एकादशी पनि भनिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यी चार महिना ‘चतुर्मास’ भनिने विशेष व्रत अवधिको थालनी हो, जसमा धर्म, संयम र साधनालाई विशेष महत्व दिइन्छ ।
तुलसीको पूजा आरम्भ
ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको बिरुवा रोपेर एक महिनासम्म स्याहार गरिएपछि आज तुलसी मोठमा सारिन्छ र त्यहीँबाट पूजाको नियमित क्रम सुरु गरिन्छ। तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजिने परम्परा वैदिक कालदेखिकै हो ।
तुलसी पूजाको यो परम्परा विशेषतः हिन्दू धर्मावलम्बीहरूका लागि आध्यात्मिक, सामाजिक र वैज्ञानिक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिन्छ।
हरिशयनी एकादशीका अवसरमा आज बूढानीलकण्ठ, चार नारायण मन्दिरहरू, र देशभरका नारायण तथा विष्णु मन्दिरहरूमा श्रद्धालु भक्तजनको भीड लागेको छ।
एकादशीको दिन चामलका परिकार नखाई रोटी, ढिँडो र फलाहार खाने चलन छ। शारीरिक रूपमा सक्षम व्यक्तिहरू वर्षभरका २४ एकादशीमा व्रत बस्ने गर्छन् भने, केहीले चतुर्मासभित्रका ८ एकादशी व्रत गर्छन्। कामकाजले व्यस्त रहनेहरूका लागि हरिशयनी एकादशी र हरिबोधिनी एकादशी मुख्य व्रत दिनका रूपमा लिइन्छ।
तुलसीको वैज्ञानिक महत्त्व
वैज्ञानिक दृष्टिले पनि तुलसी अत्यन्त उपयोगी वनस्पति हो। तुलसी भएका स्थानमा अधिक अक्सिजन पाइने, विषालु कीटाणुहरू नआउने र वायुमण्डल शुद्ध हुने तथ्य प्रमाणित भइसकेको छ। त्यसैले वास्तुशास्त्रमा समेत तुलसीको मोठ राख्नाले सकारात्मक ऊर्जा प्रवाह हुने मान्यता छ।
चार महिनासम्म गरिने तुलसी पूजा हरिबोधिनी एकादशीका दिन, तुलसीको भगवान् दामोदरसँग विवाह गरेर विधिपूर्वक समापन गरिन्छ। विवाहपछि अग्निस्थापनासहितको हवन गरी चतुर्मास व्रतको उद्यापन गरिन्छ।
हरिशयनी एकादशीदेखि सुरु हुने चतुर्मास व्रत धार्मिक आस्था, आत्मशुद्धि, संयम, तथा अध्यात्मिक साधनाको महत्वपूर्ण चरण मानिन्छ, जसले वैयक्तिक अनुशासन र सामाजिक सन्तुलनलाई समेत सुदृढ बनाउने विश्वास रहिआएको छ।