मनसुन सुरु भएकाे एक महिनामै विपतबाट तीस जनाको मृत्यु
चट्याङ र जनावरको आक्रमण प्रमुख कारण : ६४४ विपद्का घटना हुँदा १४४ घाइते र ९८६ परिवार प्रभावित
दाङ । नेपालमा मनसुन सुरु भएको एक महिना पुग्दा कहालीलाग्दो विनाश नभए पनि स्थिति सुरक्षित भने छैन । ३० जनाको मृत्यु भइसकेको छ ।
चट्याङ, जनावरको आक्रमण, आगलागी, सर्पदंश, बाढी, हावाहुरी, लेक र विषादीका असरजस्ता कारकहरूले ज्यान गुमाउनेहरू ‘प्राकृतिक मृत्यु’ का रूपमा दर्ज हुँदै आएका छन् तर वास्तवमा ती व्यवस्थापकीय असफलता र पूर्वतयारीको अभावकै परिणाम हुन् ।
विपद् व्यवस्थापनका सरकारी संयन्त्रहरूले मृत्युदर अघिल्लो वर्षको तुलनामा कम भएको भन्दै सन्तोषको भाव देखाए पनि वास्तविकतामा ६४४ विपतका घटना र ९८६ प्रभावित परिवारहरूको पीडा हेर्ने हो भने त्रास अझै कायम छ ।
विशेष गरी जनावरको आक्रमणबाट मात्र आठ जनाको मृत्यु हुनु अल्पसङ्ख्यक वर्ग, विपन्न समुदाय र दुर्गम क्षेत्रका नागरिकहरूको जोखिम कति बेवास्तामा परेको हो भन्ने संकेत हो ।
यो अवधिमा बाढी, पहिरो वा डरलाग्दा भूक्षय नदेखिए पनि ‘सामान्य देखिने’ घटनाहरू जस्तै चट्याङ, सर्पदंश वा आगलागीमा मानवीय क्षति हुनु राज्यको चेतावनी प्रणाली, सुरक्षित बसोबास, जनचेतना र आपतकालीन तयारीमाथि प्रश्न उठाउने विषय हो । विपद् भन्नासाथ हामी केवल ठूला भू-प्रकोपको कल्पना गर्छौं तर मनसुनसँगै आउने ‘सानातिना’ भनिने विपद्हरूले पनि जीवनमा कहाली निम्त्याइरहेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा औसतभन्दा कम देखिएको छ तर मनसुनको पूर्ण चक्र बाँकी नै छ र त्यसले अझै कस्तो रूप लिन्छ भन्नेमा निश्चितता छैन ।
जलवायु परिवर्तनले मौसम प्रणाली झन् अस्थिर बनाइरहेको सन्दर्भमा पूर्वानुमानको आधारमा मात्रै जनताको ज्यान सुरक्षित रहन सक्दैन । खासगरी तराईका भू–भागहरूमा सुक्खाको असर एक महिनासम्म देखिनु किसान, कृषिको निर्भर अर्थतन्त्र र खाद्य सुरक्षाको दृष्टिले चिन्ताजनक विषय हो ।
राज्य संयन्त्रको दृष्टिमा ‘कम क्षति’ देखिए पनि प्रत्येक मृत्युसँग एउटा परिवार उजाडिएको छ, एउटा समुदाय पीडित छ र एउटा प्रशासनिक प्रणाली असफल देखिएको छ। यही सन्दर्भमा मृत्युलाई ‘संख्या’ मात्र होइन, ‘संकेत’का रूपमा बुझ्न आवश्यक छ ।
अहिलेको प्राथमिकता भनेको बाँकी मनसुन अवधिमा यस्ता ‘दुःखद् तर टार्न सकिने’ मृत्यु दोहोरिन नदिन सर्वसाधारणदेखि नीति निर्मातासम्मको सामूहिक जिम्मेवारी हो ।
अघिल्लो वर्षको भयावहता सम्झेर ढुक्क हुनु होइन, यसवर्षको मौन त्रासलाई बुझेर जागरुक हुनु अहिलेको गम्भीर आवश्यकता हो। मनसुनको तेस्रो सातासम्म घाम लाग्दा जनजीवन सामान्य देखिए पनि जोखिम अझै घटेको छैन, देखिने विपद्भन्दा नदेखिने लापरबाही धेरै गम्भीर हुनसक्छ ।








