१९ मंसिर २०८२, शुक्रबार
सन्दर्भ : २१२औँ भानुजयन्ती

भानुभक्त : जसले नेपाललाई कवितामा बाँधे

प्रकाशित मिति :  13 July, 2025 7:25 am


दाङ । नेपाली भाषालाई जनजनको भाषा बनाउने युगपुरुष, आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज नेपाल तथा विदेशमा रहेका नेपाली भाषाभाषी समुदायले श्रद्धा, सम्मान र साहित्यिक कार्यक्रमसहित भव्य रूपमा मनाइरहेका छन् ।

भानुभक्तको योगदान केवल काव्यमा सीमित छैन, उनले नेपाली समाज, भाषा, संस्कार र संस्कृति एकसूत्रमा बाँध्ने अमिट भूमिका निर्वाह गरेका छन् ।

संस्कृत भाषामा रचित रामकथालाई सरल र सजीव भावमा नेपाली भाषामा अनुवाद गरेर भानुभक्तले ‘रामायण’ मार्फत् नेपाली साहित्यको जग बसाले ।

उनको रामायण केवल धार्मिक ग्रन्थ होइन, नेपाली भाषा र लोकभावनाको जीवित दस्तावेज बनेको छ। आज पनि देशका विभिन्न भेगमा रामायण लयबद्ध तरिकाले पाठ गरिन्छ, जसले भानुभक्तको लोकप्रियता र प्रभावलाई प्रमाणित गर्छ ।

भानुभक्तले राजा रामको आदर्श जीवनलाई नेपाली जनजीवनसँग जोडिदिँदा संस्कृतिको संरक्षण र प्रवर्द्धन मात्र होइन, भाषिक एकताको सेतु निर्माण गरे। त्यसै कारण उहाँको रामायण नेपाली साहित्यको मेरुदण्ड मानिन्छ।

भाषिक एकता र राष्ट्रनिर्माणको अर्को अध्याय
पृथ्वीनारायण शाहले भौगोलिक नेपाल एकीकरण गरेका थिए भने भानुभक्त आचार्यले भाषिक र सांस्कृतिक एकीकरणमार्फत् राष्ट्रनिर्माणको अर्को अध्याय सुरु गरे ।

उनको कवित्वले नेपालका कुनाकापचाका जनताको हृदय छुने काम गर्‍यो, जहाँ नेपाली भाषा पुगेको थिएन, भानुभक्तको रामायण पुग्यो ।

त्यसैले आजको सन्दर्भमा भानुभक्त नेपाली भाषाको राष्ट्रिय एकता, पहिचान र गौरवको पर्याय बनेका छन्। उहाँले लेखेको कविता – ‘घाँसी दरिद्रै भए पनि नाम कमाउने काम गरे’-नेपाली समाजमा कर्मको मूल्य बुझाउने अत्यन्त प्रेरणादायी सन्देश हो।

कारागारको पीडा र शासनप्रणालीप्रतिको व्यङ्ग्य
भानुभक्तको जीवनमा एउटा पीडादायी मोड आयो, जब उनी कुमारी चोकको हिसाब नमिलेको आरोपमा जेल परे । यस घटनाले उनलाई शासन प्रणाली र प्रशासनिक कामकाजप्रतिको गम्भीर अनुभूति गरायो । त्यसको परिणामस्वरूप जन्मिएको कविता हो–
“भोलिभोलि भन्दैमा सब घर बितिगो, बक्सियोस् आज झोली”

उनको यो व्यङ्ग्य आज पनि सरकारी संयन्त्रको ढिलासुस्तीप्रति उत्तिकै सान्दर्भिक छ । यसले भानुभक्त केवल धार्मिक कवि नभई सामाजिक यथार्थ चित्रण गर्न सक्ने प्रगतिशील स्रष्टा रहेको देखाउँछ ।

काव्यिक सम्पदाको विस्तार
‘रामायण’ बाहेक पनि भानुभक्तले लेखेका ‘वधुशिक्षा’, ‘भक्तमाला’, ‘रामगीता’, ‘प्रश्नोत्तर’ जस्ता काव्यकृतिहरू आज पनि साहित्यको समालोचना र शिक्षण–शिक्षण प्रक्रियामा उत्तिकै महत्व राख्दछन् । उनका फुटकर कविताहरूले सामाजिक मूल्य, नीति–नैतिकता र व्यवहारशास्त्रमा पनि गहिरो प्रभाव छाडेका छन् ।

भानुभक्तलाई ‘आदिकवि’ भनिनु उपयुक्त हो या होइन भन्ने बहस पनि समयसमयमा उठ्दै आएको छ । उनीभन्दा पहिला पनि नेपाली भाषामा कविता लेख्नेहरू थिए भन्ने तर्कसमेत राखिन्छ तर त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा साहित्यविद् ज्ञाननिष्ठ ज्ञवालीजस्ता अनुसन्धाताहरूको भनाइमा, “रामायणजस्तो गम्भीर र विशाल काव्यलाई लोकलयमा ढालेर भाषिक एकता ल्याउने कार्य ऐतिहासिक हो । यस अर्थमा उहाँ ‘आदिकवि’ कहलिनु उचित छ।”

राष्ट्रिय विभूतिको सम्मानमा विविध कार्यक्रम
आजको दिन भानुभक्तको सम्मानमा काठमाडौँको रानीपोखरी अगाडि रहेको उनको शालिकमा माल्यार्पण गरिँदैछ। नगर प्रभातफेरी, रामायण पाठ, भानुभक्तका रचनाहरूको वाचन, कविता गोष्ठी, भाषिक एकता सम्बन्धी छलफल र बहसलगायतका कार्यक्रमहरू देशका विभिन्न सहरहरूमा आयोजना गरिएका छन् ।

भानुभक्तको जन्मजयन्ती नेपालबाहिर पनि दार्जिलिङ, सिक्किम, भुटान, बर्मा लगायत नेपाली भाषाभाषीको उपस्थिति रहेका स्थानहरूमा भव्य रूपमा मनाइन्छ । यसबाट भानुभक्तको योगदान भौगोलिक सीमाभन्दा पनि भाषा, संस्कृति र भावनामा आधारित रहेको पुष्टि हुन्छ ।

भानुभक्त आचार्य नेपाली भाषाको दीप हुन्, जसको उज्यालोले आज पनि हामीलाई मार्ग देखाइरहेको छ । उनको रामायण केवल साहित्यिक सम्पत्ति होइन, राष्ट्रिय चेतनाको आधार हो ।

भानुभक्तले जे गरे, त्यसले नेपाली समाजलाई भाषा, भाव, संस्कार र सोचमा उचाइ प्रदान गर्‍यो । आजको दिन उनको योगदान स्मरण गर्ने मात्र होइन, उनका आदर्श र दृष्टिकोणलाई वर्तमान समाजमा पुनः पुनः अवलम्बन गर्नुपर्ने दिन हो । भानुभक्त अमर रहुन्–नेपाली चेतनामा, नेपाली भाषामा, नेपाली मनमा ।



प्रतिक्रिया दिनुहोस !