१८ बैशाख २०८१, मंगलबार

सभापति घर्तीद्धारा ५० आइसोलेशन बेडसहित एक ट्रक स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रकाशित मिति :  17 June, 2020 2:55 pm


रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती

रोल्पा,३ असार ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले ५० वटा आइसोलेशन बेडसहित विभिन्न स्वास्थ्य सामाग्री लिएर रोल्पा पुगेकी छन् ।

सभापति घर्तीले स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागसँगको समन्वयमा पुरै सेटसहित ५० थान आइसोलेशन बेड, १ हजार थान आरडीटी कीट र एक ट्रली औषधी लगायत एक ट्रक सामान लिएर रोल्पा पुगेकी हुन् ।

उनले बेड र स्वास्थ्य सामाग्री आज एक कार्यक्रमकाबीच जिल्ला प्रशासन कार्यालय रोल्पालाई हस्तान्तरण गरेकी छन् । सामाग्री जिल्ला संकट व्यवस्थापन केन्द्र रोल्पाका संयोजक प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले बुझेका छन् ।

सामाग्री हस्तान्तरण गर्दै सभापति घर्तीले रोल्पामा पछिल्लो समय कोरोना संक्रमण फैलिएकोप्रति चिन्ता व्यक्ति गरिन् । उनले भनिन्,‘सुरुमा नदेखिएपनि रोल्पामा पछिल्लो समय कोरोना संक्रमण अलि छिटै बढ्यो ।  यसले हामीलाई चिन्तित बनायो । यो चुनौति पार गर्नका लागि हामीले नयाँ योजना बनाएर जानुपर्ने भयो । ’ जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुको सकृयताले व्यवस्थापनमा राम्रो भईरहेको भन्दै प्रशंसा समेत गरिन् ।

 

रोल्पामा कोरोना संक्रमित बढ्दै गएपछि बेड तथा औषधीजन्य स्वास्थ्य सामाग्रीको अभाव भएको थियो । आइसोलेशन केन्द्रले सार्वजनिक विज्ञप्ति निकालेरै सहयोगका लागि आग्रह गरेको थियो ।

सभापति घर्तीले कोरोना संक्रमण देखिन थालेपछि सुरुदेखि नै रोल्पामा स्वास्थ्य सामाग्री पठाएको बताईन् । लकडाउन सुरु हुने वित्तिकै सुनिल स्मृति गाँउपालिकाका अध्यक्षको हातबाट स्वास्थ्य सामाग्री पठाएको र पछिपनि ३ हजार आरडीटी किट लगायतका सामाग्री स्वास्थ्य मन्त्रालयमा समन्वय गरेर पठाएको जानकारी दिईन् । उनले कोरोना संक्रमण विरुद्ध लड्न आफूले सबै किसिमका पहल गर्ने जानकारी    दिईन् । घर्ती रोल्पाबाट प्रतिनिधि सभा सांसद हुन् ।

सभापति घर्तीले जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको अन्य स्वास्थ्य सामाग्रीमा अक्सिजन कन्सेन्ट्रटर १ थान, पीपीई १ सय थान, सेनिटाइजर २० वोतल, एन ९५ मास्क ५० थान, सर्जिकल मास्क ५ हजार थान, पञ्जा २ सय थान,गमबुट २० जोर,आईआर थर्मोमिटर २ थान,डिजिटल थर्मोमिटर २ थान, डिजिटल थर्मोमिटर २० थान, पल्स अक्सिमिटर २ थान लगायत रहेका छन् ।

सामाग्री हस्तान्तरण कार्यक्रमका प्रदेश ५ का प्रदेश सांसद दीपेन्द्रकुमार पुन,लुंग्री गाँउपालिकाका अध्यक्ष दुर्गबहादुर खड्का,सुनछहरी गाँउपालिकाका अध्यक्ष आसबहादुर पुन लगायत स्थानीय राजनीतिक दलका स्थानीय नेता, प्रशासक सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो ।

अहिलेसम्म रोल्पामा ३९ जनामा कोरोना कोरोना संक्रमणको पुष्टि भएको छ । सभापति घर्तीले ठूलो परिमाणमा स्वास्थ्य सामाग्री उपलब्ध गराएपछि स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीले कारोरान विरुद्धको लडाई थप सहज हुँने भन्दै खुशी व्यक्त गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !