नेपाल राष्ट्र बैंकद्वारा आज ४० अर्ब रूपैयाँ संकलन गर्न बोलकबोल आह्वान
काठमाडौँ । बजारमा तरलता अत्यधिक बढेको भन्दै नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज थप ४० अर्ब रूपैयाँ उठाउने भएको छ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलनमार्फत रकम संकलन गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले ३५ दिन अवधिका लागि दिउँसो ३ बजे बोलकबोल (अक्सन) को समय तोकेको छ। बोलकबोलमा सहभागी संस्थाले न्यूनतम १० करोड रूपैयाँदेखि अधिकतम सीमा पाँच करोडको गुणकमा निःशेष भाग जाने गरी प्रस्ताव राख्न सक्नेछन्।
यस निक्षेप संकलनको सावाँ तथा ब्याज भुक्तानी आगामी पुस १० गते हुनेछ। ब्याजदर प्रतिष्पर्धात्मक बोलकबोलमार्फत नै तय हुनेछ। राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणमा बहु ब्याजदरअन्तर्गत बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्। तरलता व्यवस्थापनलाई लक्षित गर्दै आएको राष्ट्र बैंकको यो कदम हालै बढ्दो बैंकिङ तरलता नियन्त्रणमा केन्द्रित रहेको संकेत मानिएको छ।








