दाङबाट प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस
दाङ (देउखुरी) । आगामी २०८२ फागुन २१ मा हुने आम निर्वाचन तथा २०८२ माघ ११ मा निर्धारित राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस दाङले क्षेत्रगत रूपमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका उम्मेदवारहरुको सिफारिससूची सार्वजनिक गरेको छ ।
क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य दिपक गिरी, जिल्ला सभापति शंकरप्रसाद डाँगी, पूर्व जिल्ला सभापति किर्ती बहादुर खड्का, महाधिवेशन प्रतिनिधि केशवराज आचार्य र पूर्व महाधिवेशन प्रतिनिधि राजेन्द्र धितालको नाम सिफारिस गरिएको छ ।
सोही क्षेत्रको समानुपातिकतर्फ संविधानसभा सदस्य बुद्धिराम भण्डारीसहित १३ जनाको नाम सिफारिस गरिएको छ, जसमा दलित, महिला, जनजाति तथा थारु समुदायको समावेशी प्रतिनिधित्व देखिएको छ ।
यस्तै, २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय सदस्य गेहेन्द्र गिरी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, महाधिवेशन प्रतिनिधि शंकर गिरी, दलित पुरुष कोटाबाट जोगेन्द्र विश्वकर्मा, अपाङ्ग महिला कोटाबाट देवा डाँगी, अपाङ्ग पुरुषतर्फ गणेशबहादुर खत्री र अन्य पदाधिकारीसहित आठ जनाको सिफारिस गरिएको छ । प्रेस युनियनका केन्द्रीय सदस्य तथा अकोर्याब अध्यक्ष अर्जुन गिरीको नाम पनि सूचीमा समेटिएको छ ।
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ बिमला योगी, किरणकिशोर घिमिरे, भोजराज पाण्डे, खगराज पाण्डे र बमबहादुर डीसीको नाम सिफारिस गरिएको छ ।
समानुपातिक सूचीमा गोमा रावत, सावित्रा राना, हरि सुवेदी, बाबुराम विश्वकर्मा, गणेशकुमार चौधरीदेखि कुलराज खनालसम्म विभिन्न पृष्ठभूमिका ११ उम्मेदवार समावेश छन् ।
यसैगरी राष्ट्रिय सभा तर्फ क्षेत्र नम्बर २ का लागि विरकेशरी गौतम, घनश्याम रेग्मी, मोहनलाल वली र नदनकुमार शर्माको नाम सिफारिस भएको छ।
दाङका दुवै क्षेत्रका सिफारिस सूची सार्वजनिक भएसँगै नेपाली कांग्रेसभित्र चुनावी वातावरण थप सक्रिय बनेको देखिएको छ। समावेशी प्रतिनिधित्वसहित प्रस्तुत नामावलीलाई स्थानीय कार्यकर्ताले आगामी निर्वाचनका लागि सुदृढ आधारका रूपमा लिएको बताइन्छ ।








