५ पुस २०८२, शनिबार

कर्मचारी सुरक्षण कोषको रकम बैंकिङ प्रणालीमा ल्याउँदै नेपाल राष्ट्र बैङ्क

प्रकाशित मिति :  20 December, 2025 7:22 am


काठमाडाैँ । नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने तयारी गरेको छ ।

केन्द्रीय बैंकले सार्वजनिक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थालाई पुस ७ गतेभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको हो । सूचनाअनुसार, लगानीको रकम वर्गअनुसार विभाजन गरिएको छ ।

क वर्गका वाणिज्य बैंकमा ९६ करोड, ख वर्गका विकास बैंकमा १८ करोड र ग वर्गका वित्त कम्पनीमा ६ करोड रुपैयाँ बराबरको मुद्दती निक्षेप राखिनेछ । यसका लागि संस्थाहरूले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।

अनुभवी र सुदृढ संस्थामात्रै योग्य

राष्ट्र बैंकले लगानीका लागि कडा मापदण्ड तोकेको छ । आवेदन दिने बैंक तथा वित्तीय संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा आएको हुनुपर्ने, न्यूनतम कूल पूँजीकोष कायम रहेको हुनुपर्ने र कूल कर्जा सापटीको अनुपात आठ प्रतिशतभित्र सीमित हुनुपर्ने शर्त राखिएको छ । साथै, खुद् निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने प्रावधान पनि समावेश गरिएको छ ।

तरलता व्यवस्थापन र जोखिम नियन्त्रणको संकेत

केन्द्रीय बैंकको यो कदमलाई एकातिर कर्मचारी सुरक्षण कोषको सुरक्षित व्यवस्थापन र अर्कोतिर बैंकिङ प्रणालीभित्र तरलता सन्तुलन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ । कडा शर्तसहितको लगानी प्रक्रियाले वित्तीय अनुशासन बलियो बनाउने र जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।

यस निर्णयसँगै बैंक तथा वित्तीय संस्थाबीच प्रतिस्पर्धात्मक ब्याजदर प्रस्ताव गर्ने होड बढ्ने देखिएको छ, जसले समग्र वित्तीय प्रणालीलाई थप पारदर्शी र जिम्मेवार बनाउने संकेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !