८ पुस २०८२, मंगलबार

सुन–चाँदीको मूल्यमा उछाल : सुन हालसम्मकै उच्च विन्दुमा

प्रकाशित मिति :  23 December, 2025 11:32 am


दाङ । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन तोलामा ५ हजार ५०० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँबाट बढेर मंगलबार २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो ।

यससँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । महासंघका अनुसार सोमबार तोलामा ४ हजार २३५ रुपैयाँ रहेको चाँदी मंगलबार बढेर तोलामा ४ हजार २५५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, लगानीकर्ताको आकर्षण बढ्नु तथा स्थानीय बजारमा मागको चाप रहनु मूल्य वृद्धिका प्रमुख कारण मानिएको छ ।

मूल्यमा आएको यो वृद्धिले उपभोक्तामाझ चिन्ता बढाएको छ भने व्यवसायीहरूले बजारको चालअनुसार मूल्य समायोजन भइरहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !