९ पुस २०८२, बुधबार

नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ निक्षेप खिच्ने

प्रकाशित मिति :  24 December, 2025 12:01 pm


काठमाडौँ। वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज १६ दिनका लागि २५ अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल आह्वान गरेको हो । राष्ट्र बैंकका अनुसार हाल कुल निक्षेप ७५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

बजारमा देखिएको दीर्घकालीन प्रकृतिको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि केन्द्रिय बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ।

आजको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा बोल गरिएको ब्याजदरका आधारमा सबैभन्दा कम दर प्रस्ताव गर्ने रकमलाई प्राथमिकतामा राखी, आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।

बोलकबोलमार्फत निर्धारण हुने ब्याजदरअनुसार आज संकलन गरिने निक्षेपको सावाँ तथा ब्याज २०८२ पुस २५ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहनेछ।

केन्द्रिय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न बढीमा ६ महिनासम्मको अवधिका लागि दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ । यही व्यवस्थालाई आधार बनाएर राष्ट्र बैंकले पछिल्ला दिनहरूमा पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !