जीप दुर्घटनामा २ विद्यार्थीको मृत्यु भएपछि राेल्पा सुनछहरीका विद्यालयमा शोक विदा
रोल्पा । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा दोस्रो स्थान हात पारेर घर फर्कदै गरेका विद्यार्थी जीप दुर्घटना हुँदा दुइजना विद्यार्थीको मृत्यु भएको छ ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भाग लिएर फर्कदै गर्दा हिजो बेलुकी साढे ९ बजेतिर श्री नेपाल राष्ट्रिय मा.विका विद्यार्थी चढेको जीप दुर्घटनामा परेको हो ।
सुनछहरी गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय मा.वि. प्रतियोगितामा दोस्रो भएको थियो ।
खुशीयाली मनाउँदै घर फर्किएका शिक्षिका र विद्यार्थी चढेको नमस्ते आर्शिवाद यातायतको ग १ ज. ६६६६ नं को जीप दुर्घटनामा परेको थियो ।
सेरम र सिउरीको सिमानामा पर्ने किमलेघाट खोलामा दुर्घतना हुँदा २ जना विद्यार्थीको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अन्दाजी वर्ष १२ की कक्षा ७ मा पढ्ने दिपा पुनमगर र वर्ष ११ का कक्षा ५ मा पढ्ने सुनिल वि.क. रहेका छन् ।
घाइते हुनेमा अन्दाजी वर्ष २४ की शिक्षिका हस्तिरा वि.क.,अन्दाजी वर्ष २४ की शिक्षिका अस्मिता वि.क. छन् । यस्तै वर्ष १८ की कक्षा १२ मा पढ्ने जमुना वि.क. वर्ष १२ का कक्षा ५ मा पढ्ने हिमाल वि.क.,वर्ष १६ मका कक्षा ९ मा पढ्ने सनी वि.क. घाइते भएका छन् ।
यस्तै वर्ष १५ का कक्षा ९ मा पढ्ने किसन घर्ती वर्ष १३ की कक्षा ७ मा पढ्ने विपना घर्ती, वर्ष १६ की कक्षा १० मा पढ्ने पवित्रा पुनमगर वर्ष १० की कक्षा ५ मा पढ्ने अमृता पुनमगर पनि दुर्घटनामा घाइते भएका छन् ।
घाइते शिक्षिका र विद्यार्थीलाई सुलिचौर प्राथमिक उपचार केन्द्रमा प्राथमिक उपचार पश्चात लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको गाउापालिकाका अध्यक्ष धनबहादुर पुनमगरले जानकारी दिए ।
पालिकाले आज सुनछहरी गाउँपालिका अन्तरगत सञ्चालन हुने सम्पूर्ण शैक्षिक संस्थाहरूमा शोक विदा दिएको छ ।








