१८ माघ २०८२, आइतबार

प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौँ महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति

प्रकाशित मिति :  1 February, 2026 2:33 pm


काठमाडाैँ । नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भोटाहिटीस्थित भवन  काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिन गृहमन्त्रालयले सहमति प्रदान गरेको छ । 

व्युरोले प्रयोग गर्दै आएको कित्ता नम्बर ३५३, ३५४ र ३५५  को कुल ४ आना, २ पैसा १ दाम भएको जग्गा र सो जग्गामा बनेको भवन काठमाडौँ महानगरपालिकाले प्रयोग गर्नेगरी गृहमन्त्रालयले सहमति प्रदान गरेको हो ।

त्यसको बदलामा रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी, दुई पैसा, तीन दाम जग्गा सरकारको नाममा दर्ता गर्न महानगर सहमत भएको छ । आईतवार गृहमन्त्रालयमा भएको दुईपक्षबिचको छलफलबिच सो सहमति अनुसार निर्णय गरिएको गृह मन्त्रालयका उपसचिव वर्तराज पौडेलले जानकारी दिए।

उपसचिव पौडेलका अनुसार उक्त जग्गा नेपाल सरकारको नाममा दर्ता भइसकेपछि कुल क्षेत्रफलमध्ये कम्तीमा ८ आना जग्गा समरजंण कम्पनी कार्यालयका लागि प्रयोग गरिने र बाँकी जग्गा नेपाल प्रहरी उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपयोग गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको हो । 

यसअघि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीको साइबर व्युरो कार्यालय रहेको भोटाहिटीस्थित भवनमा महानगरपालिकाको वडा कार्यालय राख्नका लागि माग गर्दै आएको थियो ।

सार्वजनिक/सरकारी जग्गाको संरक्षण स्थानीय सरकारले गर्ने भनेर कानूनमा उल्लेख छ । तर ती जग्गाको उपभोग गर्न परे जुन निकाय मातहत छ सोसँग समन्वयन र सम्झौता गरी उपभोग गर्न पाउने कानुनी व्यवस्था अनुसार गृह मन्त्रालयसँग सहमति लिइएको हो ।



प्रतिक्रिया दिनुहोस !