नेपाल प्रहरी धुलो टक्टक्याउँदै उठेर नागरिकको सेवामा समर्पित छः प्रहरी महानिरीक्षक कार्की
काठमाडाैँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी धुलो टकटक्याउँदै पुनः नागरिकको सेवामा समर्पित रहेको बताएका छन् ।
नेपाल प्रहरीले अनेकौ उत्तारचढाव, जलन र दलनका बाबजुत हिम्मतका साथ दह्रो भई नागरिकको सेवामा अनवरत समर्पित रहेको उनको भनाइ थियो । सोमवार प्रहरी निरीक्षक निरीक्षकहरुको दीक्षान्त समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन्।
प्रहरी महानिरीक्षक कार्कीले जनअपेक्षा र दायित्वको गहिर्याई समेतलाई ध्यानमा राखेर काम गर्न पनि प्रहरीहरूलाई निर्देशन दिए । उनले युवा शक्तिको चाहना र समयको मागअनुसार आफ्नो गतिविधिलाई अघि बढाउन पनि प्रहरीहरूलाई सचेत गराए ।
महानिरीक्षक कार्कीले अपराधको क्षेत्रमा भएको वृद्धि र विस्तारलाई नियन्त्रण हुनेगरी अघि बढ्न पनि नेपाल प्रहरीले चनाखो भएर काम गर्नुपर्ने अवस्था रहेको बताए। त्यस अवसरमा उहाँले प्रहरीका लागि आवश्यक सामग्रीहरुको बन्दोबस्तीमा आफू लागिपर्ने समेत बताए ।








