२१ माघ २०८२, बुधबार

तराईका धेरै जिल्लामा बाक्लो कुहिरो र हुस्सु

प्रकाशित मिति :  4 February, 2026 11:47 am


काठमाडाैँ । तराईका धेरै जिल्लामा हुस्सु र कुहिरो फैलिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान तराई भू–भागका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो देखिएको हो।

विशेषगरी नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर र विराटनगरमा पारदर्शिता एक किलोमिटरभन्दा कम मापन भएकाले कुहिरोको अवस्था रहेको जनाइएको छ।

यी स्थानहरूमा पारदर्शिता करिब १०० मिटरमा सीमित रहेको छ। धनगढी र चन्द्रगढी क्षेत्रमा भने एकदेखि पाँच किलोमिटरसम्म पारदर्शिता रहेकाले हुस्सु लागेको मौसम विभागले जनाएको छ। धनगढीमा पारदर्शिता १५०० मिटर र चन्द्रगढीमा २००० मिटर मापन गरिएको छ।

तापक्रमतर्फ हेर्दा धनगढीमा आजको न्युनतम तापक्रम ११.२ डिग्री सेल्सियस, नेपालगञ्जमा १२.४, भैरहवामा १०.५, सिमरामा १२.०, जनकपुरमा १३.८, विराटनगरमा ११.५ र चन्द्रगढीमा १२.४ डिग्री सेल्सियस रहेको छ। हिजोको अधिकतम तापक्रम भने अधिकांश स्थानमा १८ देखि २८ डिग्री सेल्सियससम्म मापन गरिएको थियो।

मौसम विभागले पारदर्शिता एक किलोमिटरभन्दा कम हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म हुँदा हुस्सु भनिने स्पष्ट पारेको छ। तराईका विभिन्न स्थानमा देखिएको कुहिरो र हुस्सुले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।



प्रतिक्रिया दिनुहोस !