२३ माघ २०८२, शुक्रबार

स्रोत सुनिश्चित नगरी खर्च गर्दा स्वास्थ्य बिमामा २४ अर्बको दायित्व सिर्जना भयाे : मन्त्री गौतम

प्रकाशित मिति :  6 February, 2026 1:01 pm


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बिमा बोर्डले स्रोतको सुनिश्चितता नगरी तथा अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताएकी छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले चालु आर्थिक वर्षका लागि स्वास्थ्य बीमामा विनियोजित १० अर्ब रुपैयाँ रकम खर्च भइसकेको जानकारी दिइन् । उनका अनुसार स्रोत सुनिश्चित नगरी सञ्चालन गरिएका कार्यक्रमका कारण हाल स्वास्थ्य बीमामा वार्षिक २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भइसकेको छ।

सरकारले बजेटको परिधिभित्र रहेर मात्रै खर्च गर्नुपर्ने स्पष्ट गर्दै मन्त्री गौतमले नागरिकले दुःख गरेर तिरेको करबाटै स्वास्थ्य सेवाको भुक्तानी हुने तथ्यलाई सबैले बुझ्नुपर्ने बताइन् । “सरकारले रुखबाट पैसा ल्याउँदैन,” उनले भनिन्, “हामीले कमाएको पैसाबाटै सेवा सञ्चालन हुन्छ, त्यसैले मितव्ययिता र सदुपयोगमा ध्यान दिनुपर्छ।”

मन्त्री गौतमले बिमा बोर्डले स्रोतको सहमति नलिई खर्च गर्दै जाँदा प्रणालीमै समस्या आएको उल्लेख गरिन्। चालु आर्थिक वर्षको सुरुमै १० अर्ब रुपैयाँ खर्च भइसकेको भए पनि अझै आवश्यक रकम पुगेको छैन भन्दै उनले बिमा बोर्डले स्रोत सुनिश्चित नगरी जति मन लाग्यो त्यति सेवा दिँदा गम्भीर दायित्व थपिएको टिप्पणी गरिन् ।

उनले संविधानले निःशुल्क स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा व्यवस्था गरेको स्मरण गराउँदै यसको कार्यान्वयनको एकल जिम्मेवारी स्थानीय सरकारको भएको बताइन् । स्थानीय तहले स्वास्थ्य सेवालाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउन सक्रिय भूमिका खेल्नुपर्ने उनको धारणा छ।

स्वास्थ्य क्षेत्रको दिगो व्यवस्थापनका लागि वित्तीय अनुशासन र स्रोतको उचित बाँडफाँड अनिवार्य रहेको उल्लेख गर्दै मन्त्री गौतमले स्वास्थ्य बिमा बोर्डलाई थप जिम्मेवार र संवेदनशील भएर काम गर्न आग्रह गरिन् ।



प्रतिक्रिया दिनुहोस !