दुबईमा फ्लाइ नेपा ट्राभलको नयाँ कार्यालय उद्घाटन
काठमाडौँ । फ्लाइ नेपा ट्राभलले आफ्नो अन्तर्राष्ट्रिय विस्तार रणनीतिअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा नयाँ कार्यालय औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
कम्पनीका ग्लोबल सीईओ तथा अमेरिका लागि पर्यटन प्रवर्द्धक बिनोद अधिकारीको नेतृत्वमा आयोजित विशेष समारोहबिच कार्यालय उद्घाटन गरिएको हो।
कम्पनीका अनुसार दुबई विस्तारमार्फत नेपाल, यूएई, क्यानडा र संयुक्त राज्य अमेरिका बीचको यात्रु आवतजावत तथा पर्यटन सहकार्यलाई सुदृढ बनाउने लक्ष्य लिइएको छ।
यूएईमा बसोबास गर्ने पाँच लाखभन्दा बढी नेपाली समुदाय तथा स्थानीय इमिराती नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यसमेत कम्पनीले राखेको जनाएको छ।
नयाँ कार्यालयमार्फत होलिडे प्याकेज, भिसा सहजीकरण, होटल बुकिङ, यातायात व्यवस्थापन तथा कर्पोरेट ट्राभल व्यवस्थापनलगायतका समग्र यात्रा सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
साथै नेपालका प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटन प्याकेजहरूको प्रवर्द्धनमा विशेष जोड दिइने बताइएको छ। तिब्बत र भूटान भ्रमण प्याकेजहरू एएमए एडभेन्चरसँगको सहकार्यमा सञ्चालन गरिने कम्पनीको योजना छ।
उद्घाटन समारोहमा बोल्दै सीईओ अधिकारीले दुबई विश्वव्यापी व्यापार र यात्राको प्रमुख केन्द्र भएकाले कम्पनीको ‘संस्कृति र समुदायलाई जोड्ने’ दृष्टिकोणसँग मेल खाने बताए। उनले यस विस्तारले नेपाल, यूएई, क्यानडा र संयुक्त राज्य अमेरिका बीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
काठमाडौंस्थित मुख्यालयबाट सेवा प्रदान गर्दै आएको फ्लाइ नेपा ट्राभलले विश्वभर भरपर्दो, सहज र पहुँचयोग्य यात्रा समाधान उपलब्ध गराउने लक्ष्यसहित अन्तर्राष्ट्रिय विस्तारलाई निरन्तरता दिएको जनाएको छ।








