४ जेष्ठ २०८१, शुक्रबार

पोल्याण्डमा काेराेना महामारीबीच राष्ट्रपति चयनका लागि मतदान

प्रकाशित मिति :  28 June, 2020 5:01 pm


एजेन्सी, १४ असार। 

विश्वभरी फैलिएको कोरोनाभाइरस महामारीबीच पनि पोल्याण्डमा आज मतदान भएको छ ।नयाँ राष्ट्रपति चयनका लागि पोल्याण्डबासीले मतदान गरेका हुन् । यो निर्वाचन गत मे मै हुनुपर्ने भए पनि कोरोनाभाइरसको महामारीका कारण जुन २८ का लागि सरेको हो ।

निर्वाचनका लागि वर्तमान राष्ट्रपति अन्ड्राज डुडासँगै अरु १० जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । ४८ वर्षीय डुडालाई सत्तारुढ रुढीवादी पार्टी कानुन र न्याय पार्टीको समर्थन रहेको छ । उनी दोस्रो ५ बर्षे कार्यकालका लागि राष्ट्रपति बन्न प्रतिस्पर्धामा उत्रिएका हुन ।  ।

पोल्याण्डको राजनीतिमा सो पार्टीले कुन हैशियत पाउनेछ भन्नेबारे पनि डुडाको नतिजाले तय गर्नेछ ।पछिल्ला विभिन्न सर्वेक्षणहरुले मतदानको पहिलो चरणबाट नै कुनै उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसक्ने देखाएको छ । त्यसैले दोस्रो चरणको मतदान गर्नुपर्ने सम्भावना देखिएको छ ।

कुनै उम्मेदवारले ५० प्रतिशत मत नल्याएमा यही जुलाई १२ तारिखका दिन अर्को चरणको मतदान गराउनेगरी मिति तय भएको छ ।आइतबार भएको पहिलो चरणको मतदानको नतिजा बुधबार सार्वजनिक हुनसक्ने अधिकारीहरुले जनाएका छन् ।

युरोपेली संघको सदस्य समेत रहेको यो देशमा अन्य युरोपेली देशहरुले जस्तो कोरोनाभाइरसको महामारी भोग्नु परेको छैन । त्यसैले धेरै मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ ।

मतदानका लागि कोरोनाबाट बच्न अपनाइने आधारभूत सुरक्षा सतर्कता भने अपनाउन मतदातालाई सचेत गरिएको छ ।

३ करोड ८० लाख जनसङ्ख्या रहेको पोल्याण्डमा अहिलेसम्म ३४ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने १ हजार ४ सय  जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !